वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसको तरुण दल र नेवी संघ परित्याग गरी आएका दर्जन बढी युवालाई नेकपा एमालेमा आबद्ध गरिएको छ । 

४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा वराहक्षेत्रमा आयोजित विचार गोष्ठी कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतम, मुरारी सुवेदी, सुनसरी जिल्ला उपाध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल, संगठन विभाग प्रमुख तथा वराहक्षेत्र इञ्चार्ज योग्यराज खड्कालगायत केन्द्रीय तथा जिल्ला नेताहरुको उपस्थितिमा युवाहरुलाई नेकपा एमालेमा स्वागत गरिएको छ । 

वराहक्षेत्र एमालेका सचिव राजेन्द्र कार्कीका अनुसार तरुण दल नगर सदस्य, सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीका नेवि संघ इकाई सचिव एवम् नेपाली कांग्रेस वराहक्षेत्रका कृयाशील सदस्य फुर्वा तामाङको नेतृत्वमा नेकपा एमालेमा युवाहरु प्रवेश गरेका हुन् । 

Furwa Tamang CPN UML Barahakshetra 1

पार्टी प्रवेश गर्नेहरुमा वडा नम्बर ७ का आकाश बस्नेत, गगन घिमिरे, फणिन्द्रबहादुर राई, विमल तामाङ, रोशन तामाङ, सुमित थापा, प्रवेश घिमिरे, आयुश धिमाल, दिनेश शाह, भावश कार्की, रोहन थापा, रेवश थापा र वडा नम्बर ६ का उत्तरकुमार राईलगायत युवा नेकपा एमालेमा आवद्ध भएको एमाले जिल्ला सदस्य तथा युवा नेता विष्णु घिमिरेले जानकारी दिए । 

‘मेरो परिवारिक ‘ब्याकग्राउन्ड’ कांग्रेस हो, म पनि त्यही पार्टीमा लागेर विद्यार्थी जीवनबाट राजनीतिमा लागें, पार्टीको सिद्धान्तअनुसार काम गरिरहेको थिएँ, जब शिक्षित हुँदै गएँ,  काग्रेसबारे बुझें मलाई पार्टीभित्रको काम पन परेन,’ पार्टी प्रवेश कार्यक्रममा फुर्वाले भने, ‘पार्टीभित्र भेदभाव, विकास भन्दा पनि कुर्सी मोहका कारण दिक्क लागेर नेकपा एमालेमा प्रवेश गरेको हुँ, अब सारा युवाहरुले यो बुझ्न छ कि देश परिवर्तन गर्ने नेकपा एमालेबाहेक अर्को पार्टी छैन । 

पार्टीले दिएको जिम्मेवारीअनुसार दृढतापूर्वक काम गर्ने फुर्वाले बताए । पार्टी प्रवेश गरेका युवाहरुलाई योग्यता र क्षमताअनुसार चाँडै जिम्मेवारी प्रदान गर्न नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदीले निर्देशन दिए । 

Furwa Tamang CPN UML Barahakshetra 3

एमाले नेताहरुले पार्टी प्रवेश गरेका युवाहरुलाई अबिर–माला लगाई स्वागत गरेका थिए । 

नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतमले प्रमुख अतिथिको आसनबाट बोल्दै पुष्पलालको जीवनीका विषयमा प्रकाश पारे । उनले पुष्पलाललाई निष्ठा, इमानका नेता र सादगी नेतृत्वका रुपमा चिनाए । 

एमालेकै केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रस्तुत गरेको एक घण्टा लामो प्रवचनमा नेपाली कम्युनिष्ट इतिहास, पुष्पलालको योगदान र वर्तमान अवस्थामा नेकपा एमालेभित्रको किचलोको अन्तर्यका बारेमा उपस्थितलाई जानकारी गराए । 

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख एवम् नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनालले पुष्पलालको स्मृति गर्दै उनको सैद्धान्तिक र संघर्षपूर्ण इतिहासबाट ज्ञान लिंदै समृद्ध मुलुक निर्माणमा लाग्नु पर्ने बताए ।  

नेकपा एमालेका सुनसरी जिल्ला नेता, संगठन विभाग प्रमुख तथा वराहक्षेत्र ईञ्चार्ज योग्यराज खड्काले पुष्पलाल श्रेष्ठको सिद्धान्त, संगठन र संघर्षका बारेमा प्रवचन दिए ।