एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका छन् ।

‘किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्,’ ओलीले भने, ‘संसदमा आफ्नै पार्टीको सरकारका विरूद्धमा मत हालियो । 

यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो। तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथै छु । म थाकेको छैन । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’  

उनले पार्टी एकताका लागि हदैसम्म लचिलो भएको र १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । एकता भए पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील रहने ओलीले बताए ।

बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका छन्।

उनले माधव नेपालले दोस्रो अध्यक्ष मागेको र अध्यक्ष दिन तयार छु भन्दा पनि उनले एकतामा इच्छा नदेखाएको बताए ।

‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ उनले भने, ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ ।’

त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेको ओलीले बताए।