नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनकै निवास टोखा पुगेका छन् ।

बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको थियो । 

यस्तै सुदूरपश्चिमबाट आएका अर्थ मन्त्री एवं एमाले संसदीय दलका नेता प्रकाश साहले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । 

‘तपाईँले राजीनामा फिर्ता लिनुपर्छ। यो चै सुदूर पश्चिमका जनताको आदेश हो। यदि त्यो तपाई मान्नु हुन्न भने हामी मान्छे उतार्छौं’, उनले रावलसमक्ष भने ।

यस्तै नेकपा एमाले अछाममा अध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवरले रावलले कुनै पनि हालतमा राजीनामा फिर्ता लिनुपर्ने बताए ।

‘हामी पार्टीको लेटरप्याडबाट तपाईँलाई राजीनामा फिर्ता लिनुहोस् भनेर निर्देशन दिन्छौं ।  

तपाईले कुनै पनि हालतमा राजीनामा फिर्ता लिनुपर्छ,’ कुँवरले भने । यसबारे भिम रावलले केही बोलेनन् ।

सबै तिरको दबाबले सभामुख अग्नी सापकोटाले पनि रावलले दिएको राजीनामा स्वीकृत गरेका छैनन् ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा  नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।

आज बसेको नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित भएका थिए । त्यसपछि नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् । 

भीम रावललाई माधव नेपाललले– ‘तपाईँले किन राजीनामा गर्नुभयो ? पहिला राजीनामा फिर्ता गर्नूहोस् । 

राजीनामा फिर्ता गरेपछि बल्ल अरू कुराहरू हुन्छ। इन्तु, किन्तु परन्तु केही नभनी राजीनामा फिर्ता गर्नूहोस्,’ नेपालले रावललाई भने, ‘राजीनामा दिने तपाईको नैशर्गिक अधिकार हो। तर राजीनामा गर्न पाउन्नस् भन्ने पनि हाम्रो अधिकार हुन्छ, जनताको अधिकार हुन्छ । 

त्यसैले तपाईले दायाँ बायाँ केही नभनी राजीनामा फिर्ता लिनुहोस् त्यसपछि अरू कुराहरू हुन्छ ।’

नेपालले अहिले अरू अरू केही कुरा गर्दिनँ भन्दै आफ्नो एक सूत्रीय बटमलाइन नै राजीनामा फिर्ता लिनूहोस् भएको दोहोर्याएका थिए ।