नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमणमा संलग्न रहेकाले स्पष्टीकरण बुझाएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले घिमिरेमाथि आक्रमण गरेका थिए । गत साउन १ गते घिमिरेमाथि गौशालास्थित क्रियाशील सदस्यता छानबिन समितिको कार्यालय (धर्मशाला) को गेटमा आक्रमण भएको थियो ।
उक्त आक्रमणमा क्षेत्रीय सभापति बस्नेतसहित २५ जनाजति कांग्रेस कार्यकर्ता संलग्न थिए। घटना भएको भोलिपल्ट बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले घटनामा संलग्नमाथि स्पष्टीकरण सोध्न र कारबाही गर्न निर्देशन दिएको थियो ।
‘हामीले क्षेत्रीय सभापतिलाई स्पष्टीकरण सोधेका थियौँ । उनले पत्र पठाइसकेका छन् । अब अनुशासन समितिको बैठक बसेर यसबारे अध्ययन गरी आवश्यक निर्णय लिन्छ,’ केसीले भने ।
क्षेत्रीय सभापति बस्नेतले स्पष्टीकरण पत्रमा के उल्लेख गरेका छन् भन्ने खुलेको छैन ।
केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले यसबारे छिट्टै बैठक गरी आवश्यक निर्णय लिइने बताए ।
सभापति देउवाले २४ घन्टाभित्र स्पष्टीकरण लिएर ३ दिनभित्र कारबाही गरिसक्न निर्देशन दिएका थिए। सिन्धुपाल्चोकमा करिब एक हजार दुई सय क्रियाशील सदस्यता विवाद छ ।
क्रियाशील सदस्यता वितरण तथा नवीकरणबारे केन्द्रीय सदस्य प्रदीप पौडेल र श्याम घिमिरेले बागमती र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला तथा क्षेत्रीय कार्यसमितिका विवरण अध्ययन गरेका थिए ।
पौडेल र घिमिरेका कारण नयाँ क्रियाशील सदस्य थप नभएको भन्दै क्षेत्रीय सभापति बस्नेतसहित युवाहरूले गत साउन १ मा घिमिरेमाथि कुटपिट गरेका थिए ।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अनुशासन समितिलाई निर्देशन दिँदै स्पष्टीकरण सोध्न र आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए ।
सिन्धुपाल्चोकका नयाँ क्रियाशील सदस्यताबारे विवाद छ । छानबिन समितिमा सहमति नभएको क्रियाशीलको विवरण केन्द्रीय समितिमै फिर्ता भएको छ । अब शीर्ष नेताहरूले ती सदस्यता के गर्ने भन्ने यकिन गर्नेछन् ।
घिमिरेमाथि आक्रमणमा संलग्न क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई मात्रै स्पष्टीकरण सोधिएको थियो । बस्नेतले सोमबार नै स्पष्टीकरण पत्र बुझाइसकेका छन्। बस्नेतको स्पष्टीकरण अनुशासन समितिमा आइसकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए ।