नेपाली कांग्रेसले वडा अधिवेशन दश दिन पर सार्ने तयारी गरेको छ ।
कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो ।
‘क्रियाशीलको सूची खामबन्दी गरेर जिल्ला हुँदै वडामा पठाउन समय लाग्छ । दश दिनजति वडा अधिवेशन सर्छ,’ एक नेताले भने ।
कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन्। कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।
पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि केही दिन वडा अधिवेशन सार्न लागिएको छ ।
तर सोमबारसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन। छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउँछन् ।