प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको विवाद मिलाउन गठित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । 

आज बसेको एमाले केन्द्रीय कमिटीको दशौं बैठकले विघटित कार्यदलको सहमति अनुमोदन गरेको हो ।

केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आइतबारको संसद बैठकमा वरिष्ठ नेता नेपालसहित २२ जना सांसदले ‘फ्लोर क्रस’ गरी देउवालाई विश्वासको मत दिएका थिए । 

uml-cc-meeting1

नेपालसहित एमाले सांसदहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसानले देउवालाई मत दिएका थिए । 

यसैगरी गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए । 

विश्वासको मत दिनेमा ११ जना प्रत्यक्ष निर्वाचित र ११ जना समानुपातिक सांसद रहेका छन् । केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने एमालेले जनाएको छ ।