राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गरेका छन् । उनले भने, ‘मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ ।’

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेकोे विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका दुर्गा पौडलले अदालतले दिएको आदेश, संविधानको  मर्म  र भावना तथा विगतको सरकारका कमी कमजोरीबाट शिक्षा लिएर राम्रा काम गर्न सरकारलाई सुझावका साथ पक्षमा मतदान गर्ने निर्णय बताए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले जनता र मजदूरको हितमा  ठूला दलले काम नगरेकाले पक्ष वा विपक्ष मतदान नगरी तटस्थ रहेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीको जवाफ

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी राख्नुभएको प्रस्तावका सम्बन्धम सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र र राष्ट्रियतको पक्षमा अदालतको निर्णय आएको बताए ।

उनले भने, ‘सबै जातजाति समुदायको देश भएकाले विकास र समृद्धिका लागि  मिलेर काम गर्न तयार छु, हामी मिलेर काम गरौँ । सरकारको अहिलेको प्राथमिकता कोरोना खोप नै हो ।’ प्रधानमन्त्री देउवाको जवाफपछि विश्वासको प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम अघि बढेको छ ।