धरान/ नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुनसरीले युथ फोर्स ब्यूँताएको छ । आज इटहरीमा बसेको राष्ट्रिय युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।
पुनःस्थापित युथफोर्सको केन्द्रमा ५०१ सदस्यीय र सुनसरीमा २५० सदस्यीय रहने राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य अर्जुन लिम्बुले जानकारी दिए । एमालेको अग्रपंक्तिमा रहेका नेतालाई सुरक्षा दिँदै युथ फोर्सले पार्टीका कार्यक्रमहरूमा स्वयंसेवाको भूमिका खेल्ने लिम्बुले बताए। लिम्बुले एमाले छिट्टै सरकारमा फर्किने दाबी गरे । सर्वोच्चको आदेशपछि प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवाले एक महिनापछि विश्वासको मत नपाएपछि एमालेले बहुमतसहित दाबी गर्ने उनले बताए ।
यस्तै उप–प्रमुख विवेक राईका अनुसार अहिले एमालेलाई बौद्धिक अराजकतावादी तथा विपक्षी गठबन्धनका नाममा घेराबन्दी गरिएको छ, त्यसको प्रतिरोध युथ फोर्सले गर्नु पर्ने भएकोले गठन गरीएको बताए ।
राष्ट्रिय युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे युथ फोर्स केन्द्रको प्रमुखमा र उपप्रमुखमा पुष्प श्रेष्ठले जिम्मेवारी पाइसकेका छन्।
युवा संघका इन्चार्ज महेश बस्नेतले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि काठमाण्डौंमा असार २९ गते मङगंलबार युथ फोर्सलाई ब्युँताएको थियो ।
सुनसरीमा युर्थ फोर्सको प्रमुखको जिम्मेवारीमा सुजन लामालाई दिइएको छ । उप–प्रमुखको जिम्मेवारीमा विवेक राईले पाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले यूथ फोर्स गठन भएपछि युवाहरूको सङ्गठन अझ सशक्त बनाएको बताए । उनले नयाँ कमिटीले जिल्लामा रहेका युवाहरूलाई सङ्गठित गर्दै युवाहरूलाई हरेक कालखण्डमा तयारी रहन समेत आग्रह गरे ।
पार्टी जिल्ला नेता रेवती रमण भण्डारीको प्रमुख आतित्थयता तथा राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटी सचिव देवानन्द मेहताको विशेष आतिथ्यमा सम्पन्न बैठकले कमिटी चयन गरेको हो । यस्तै मिडिया फोकल पर्सनमा सुनिल कार्की रहेका छन् । बैठकले केही दिनमा बाँकी रहेको पद पनि पूर्ति गर्ने तयारी रहेको संयोजक लामाले बताए ।