नेकपा एमालेका नेता वामदेव गौतमले नेता भीम रावलको राजीनामा अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् ।

संवैधानिक इजासले नै राजीनामा गर्न पर्दैन भनेको स्मरण गर्दै पार्टीको निर्णय मान्ने भए सरकारको विपक्षमा मतदान गर्ने, नमान्ने भए पक्षमा मतदान गर्ने हो यसमा राजीनामा दिइहरनु आवश्यक नभएको बताए ।

सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर आज स्थायी कमिटीले गरेको निर्णयबाट डराउनु नपर्ने गौतमले बताए ।

‘यदि कारवाही भयो भने भोलि फेरि सर्वोच्चले पार्टीमा राख भन्छ। यसमा डराउनुपर्दैन,’ उनले भने ।

‘रावलजीले राजीनामा दिए । त्यो उनको स्वविवेक हो । तर, पार्टीको निर्णय (विश्वासको मत नदिने निर्देशन) मान्ने हो भने उनले मत नदिए पनि हुन्थ्यो । पार्टीको निर्णय नमान्ने हो भने सर्वोच्चले धारा ७६(५)मा सांसदलाई स्वविवेकीय निर्णय गर्ने अधिकार दिएको छ, त्यसमा अडिग भएको भए पनि हुन्थ्यो । सांसदबाट राजीनामा दिने उनको निर्णय यस हिसाबले अनुपयुक्त हो’, उनले भने, ‘उनले राजीनामा नदिइ पनि आफ्नो विवेकमा अडिग रहन सक्थ्ये ।’

नेता रावलले आज सांसद पदबाट राजीनामा दिएका थिए ।

आइतबार प्रतिनिधि सभा बैठकमा सहभागी हुनुअघि सांसद रावलले प्रतिनिधि सभाको सदस्य पदबाट दिएको राजीनामा अनुपयुक्त भएको बताएका हुन् । 

आइतबार राष्ट्रिय सभा बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका गौतमले अहिलेको अवस्थामा रावलले सांसद पदबाट राजीनामा दिन नहुने बताएका हुन् ।

संविधानको धारा ७६को उपधारा ५ अनुसारको सरकार गठनका बेला सरकारको पक्षमा वा विपक्षमा मत दिने वा नदिने भन्ने विषय सांसदको स्वविवेकीय अधिकार भएको भनेर सर्वोच्च अदालतले व्याख्या गरिसकेको अवस्थामा रावलको राजीनामा अनुपयुक्त भएको गौतमको जिकिर छ ।