नेकपा एमालेका नेता शंकर पोख्रेलले नेकपा एमाले एकताको पक्षमा स्वयम् माधव नेपाल नै नरहेको स्पष्ट पारेका छन् । एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले एकताका लागि गरेको तीन महिनाको अथक प्रयास खेर गएको बताएका छन् ।
माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको उल्लेख गरेका छन् । तीन महिनाको मिहिनेत खेर गएको उनले टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा नेता पोख्रेलले लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’
आइतबार बिहान नेपाल निवास कोटेश्वरमा पोखरेलसहितका नेताले माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
यता माधव नेपाल पक्षभित्र पनि कार्यदलका एक सदस्य एमाले सचिव भीम आचार्यले पार्टी एकताका लागि जोड गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिने भएपछि नेता आचार्यले नेकपा एमाले विभाजन गर्ने षड्यन्त्र देउवाले गरेको टिप्पणी गरेका छन् । नेपाल निवास कोटेश्वरमा प्रम देउवालाई विश्वासको मत दिने बारे साझा धारणा बनाउन माधव पक्षको बैठकमा नेता आचार्यले फरक मत राखेका छन् ।
उनले नेकपा एमालेको एकता कायम राख्न प्रतिबद्ध रहेको बताउँदै आएका छन् । एमालेभित्र दोस्रो तहका नेता एकताको पक्षमा छन् भने माधव नेपालको पछिल्लो गतिविधिले एकता भाँड्न खोजेको देखिएको नेताहरुले बताउँदै आएका छन् ।