सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको निर्णय बदर गरेपछि नेकपा एमालेका जनवर्गीय संगठनले देशव्यापी रुपमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘सबै फैसला मान्दैनौं’ लेखिएको ब्यानरसँगै विरोध प्रदर्शन गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सत्तारुढ दल एमालेको जनवर्गीय संगठनहरुले देशव्यापीरुपमा विरोध प्रदर्शन गरेका हुन् ।

नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धरानमा सोमबार साँझ विरोध प्रदर्शन गरे । छाताचोकबाट शुरु भएको विरोध जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बूले सर्वोच्चको आदेश नमान्ने घोषणा गरे । 

‘हामी जनादेश मान्न तयार छौं, परमादेश मान्दैनौं’ युवा नेता लिम्बूले अदालतलाई गल्ती सच्याउन आग्रह गर्दै भने, ‘हामी न्यायलयको पक्षमा छौं, तर न्यायलयले सेटिङ गरेर बहुदलीय देशलाई निर्दलीय बनाउन खोज्छ भने न्यायलयलाई पनि ढुंगा हान्छौं ।’ 

नेता लिम्बूले अदालतले जनताको कुरा सुन्नु पर्ने जिकिर गरे । 

प्रदर्शनकारी युवाले ‘अदालतले नै सबै निर्णय गर्ने हो भने जनमत किन चाहियो ?’ भन्दै प्रश्न गरे । क्युपेक नेपालका केन्द्रीय सचिव मुक्तिनाथ गिरीले अदालतको आदेशले जनतालाई घात गरेको बताए । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अफाक अहमदले अदालतको आदेशले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थालाई नै कमजोर बनाएको टिप्पणी गरे । उनले विदेशी चलखेल भएको भन्दै त्यसविरुद्ध युवाहरु देशव्यापीरुपमा आन्दोलनमा उत्रिएको बताए ।

कोण सभामा युवाहरुले विदेशी दलालहरु होसियार, संविधान मिच्न पाइँदैन भन्दै  सडकमा नाराबाजी गरेका थिए । 
कोण सभालाई युवा नेताहरु विवेक राई, भवानी दाहाल लगायतले सम्बोधन गरेका थिए ।