चन्द्र संस्कृत माविबाट २०५१ सालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीति सुरू गरेका श्याम पोखरेल ने.वि. सङ्घ सुनसरीका उपसभापतिसमेत भए । उनले विद्यार्थी राजनीतिकै क्रममा २०६१ सालमा ३ महिना जेलजीवन पनि व्यतित गरे । २०६४ सालदेखि सक्रिय पार्टी राजनीतिमा लागेका पोखरेल हाल नेपाली

काङ्ग्रेस धरानका सचिव रहेका छन् । पोखरेल साउन १६ गते काङ्ग्रेस पार्टीको अधिवेशनमा धरान उपमहानगर सभापतिका दाबेदार हुन् । पोखरेलसँग महाधिवेशनको तयारीका विषयमा आधारित भई ब्लाष्टकर्मी खिलानाथ विश्वकर्माले गरेको  कुराकानी ः

अहिले के मा व्यस्त हुनुहुन्छ ?

–पूर्णकालीन राजनीतिमा लागेकाले पार्टीको महाधिवेशनको तयारी साथै उपमहानगरका नागरिकको असहजतालाई सहज गराउने कार्यमा व्यस्त छु ।

 

१४ औं महाधिवेशन आयो, तयारी कस्तो छ ?

–तयारी राम्रोसँग गरिरहेका छौँ । पार्टी प्यानलले मूल्याङ्कन गरी अघि बढाए सभापतिमा आकाङ्क्षा हो । तर, अहिले नै घोषणा गरेको छैन । म पार्टीको कार्यकर्ता हो भने कुनै तहको नेता पनि हुँ । नेतृत्वले सबैलाई मिलाउनु पर्छ । अहिले तल्लो तहसम्म मिलाइरहेका छौँ । म आफू एकल सभापति घोषणा गर्दिन । सबै मिलाइसकेपछि प्यानल नै घोषणा गर्छौं ।


के का लागि सभापतिमा आकाङ्क्षा तपाईंको ?

–धरानको माटो, धरानको हावापानी, वातावरण बुझेको मान्छे हुँ म । ४२ वर्षको उमेरसम्म धरानकै विकास र समृद्धिका लागि लगानी गरेको छु । सङ्गठनलाई गतिशील बनाउने, पार्टीभित्र सबैलाई अटाउने र सबैलाई सँगै लिएर जान सक्ने क्षमता छ । साथै अन्य राजनीतिक दलका नेतृत्वले पनि काङ्ग्रेसको नेतृत्वमा श्याम आए हुन्थ्यो भन्ने चाहन्छन् । धरानको विकास र धराने जनतालाई प्रभावशाली नेतृत्व धरानमा छ भन्ने बनाउनका लागि आकाङ्क्षा हो ।


 सभापतिमा उम्मेदवार हुन पाउनुभयो भने विजय हुने आधार कस्ता छन् ?

–राम्रो छ । किनकी म लामो समय पार्टीमा योगदान गरेको मान्छे हुँ । पार्टीमा जित्ने आधार भनेको निरन्तरता हो । म २०५१ सालदेखि निरन्तर काङ्ग्रेस पार्टीको राजनीतिमा छु । विजयको आधार सङ्गठन हो । सङ्गठनमा पनि राम्रो छवि छ ।


काङ्ग्रेस नेपालको पुरानो शक्ति मानिन्छ, धरानमा त कमजोर छ नि ?

–पुरानो शक्ति हो । धरानमा कुनै समय कमजोर थियो । अहिले कमजोर छजस्तो मलाई लाग्दैन । कमजोर भएको भए निर्वाचनमा विजय हासिलगर्न सक्दैनथ्यौं । अहिले हाम्रो टिम आएपछि सुदृढ गरेका छौँ ।


 तपाई अहिले पनि सचिव हुनुहुन्छ ? तपाईको समूह नेतृत्वमा आएपछि के परिवर्तन आयो त ?

–हाम्रो टिम आएपछि लामो समय बामपन्थीको गढ भएको स्थानमा नेपालकै सन्दर्भमा ऐतिहासिक विजय ग¥यौं । त्यो हाम्रो नेतृत्वका कारणले पनि आएको हो । हो, केही कम्युनिष्टप्रतिको वितृष्णाले पनि निर्वाचन जितेका हौँ । तर, वितृष्णाले मात्रै विजयी हुन सकिँंदैन । हामी नेतृत्वमा आएपछि सङ्गठन विस्तार गर्ने, जनताको भावना जित्न सकेकाले निर्वाचनमा विजय हासिल गरेका हौँ । धरानको सिङ्गो काङ्ग्रेसले गर्दा विजय भएको हो । नेतृत्व भएकाले हाम्रो भूमिका बढी होला ।


 सभापतिमा विजय हुनुभयो भने पार्टीलाई कस्तो बनाउने एजेण्डा छन् ?

–मेरो मुख्य एजेण्डा भनेको युवालाई नेतृत्व दिनुपर्छ भन्ने हो । दोस्रो, एक व्यक्ति एक पद हुनुपर्छ । तेस्रो, पार्टी सभापति नै पालिकाको प्रमुख, उपप्रमुखमा उम्मेदवारी हुनुपर्छ भन्ने परम्परा छ । म त्यो परम्परालाई तोड्न चाहन्छु । तपाई मेयर, सांसद्को उम्मेदवारीको त कुरै नगर्नुहोस् । मेरो वडा सदस्यमा पनि दाबी रहँदैन । सभापति भएँ भने ५ वर्ष पूर्णरूपमा सङ्गठन विस्तार र बलियो बनाउन लाग्छु । पार्टीलाई मजबुत बनाउने मुख्य सोच छ ।


सभापति हुनुभयो भने पनि आवधिक निर्वाचनमा उपमहानगरको प्रमुखमा उम्मेदवारी दाबी गर्नुहुन्न ?

–हो, म प्रमुख दाबी त होइन, निर्वाचनमा कुनै तहमा दाबी गर्दिनँ । पार्टीमा लामो समय योगदान गर्ने नेता, कार्यकर्ता हुनुहुन्छ । उहाँहरूबाट सक्षम व्यक्तिलाई अवसर दिने हो । नेपालमै त म भन्दिनँ, धरानको काङ्ग्रेसमा सभापति भएपछि मात्रै मेयरमा उम्मेदवार हुनुपर्छ भन्ने गलत परम्परा बसेको छ । त्यसलाई म चिर्न चाहन्छु । सभापति भएँ भने ५ वर्ष पूर्णरूपमा पार्टीलाई अब्बल बनाउनमा लाग्नेछु । सभापति भनेको पार्टी कमाण्डर हो । कमाण्डर नै जनप्रतिनिधि भएपछि सेना अल्मलिन्छन् । त्यसैले सभापति जनप्रतिनिधि हुनुहुँदैन भन्ने मेरो एजेण्डा हो । 


 राजनीतिको उद्देश्य सत्ता प्राप्ति हुन्छ,सत्तामै नजाने भए के का लागि राजनीति त तपाईंको ?

–हो, ठीक भन्नुभयो, राजनीतिको अन्तिम उद्देश्य सत्ता नै हो । यदि सभापति भएँ भने ५ वर्षमा पार्टीको सङ्गठनलाई अब्बल बनाउँछु । सङ्गठन अब्बल भएपछि प्रमुख होइन, सांसद्, मन्त्री पद नै मलाई खोज्दै आउँछ ।


तपाई सभापति हुनुभयो भने धरानले के पाउँछ ?

–मबाट धरानले धेरै कुरा पाउँछ । म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर धरानको विकासमा लाग्छु । पहल गर्छु । अन्य राजनीतिक दललाई पनि सहमति गराई केन्द्रीय सरकारदेखि नै धरानको विकास गर्न अघि बढ्छु ।


अन्त्यमा केही भन्नुहुन्छ ?

–धरानको काङ्ग्रेसका नेता कार्यकर्ताले खोजे जस्तो सभापति पाउनुपर्छ भन्ने छ । किनकी पार्टीका कार्यकर्तादेखि नागरिकसम्मले गाह्रो अप्ठ्यारो पर्दा नेतृत्वलाई सम्झिन्छन् । म सभापति भएँ भने यो प्यानल, त्यो प्यानल नभनी सबै नेता कार्यकर्तालाई व्यवस्थापन गरेर अघि बढ्छु । साथै कतिजना लामो समय पार्टीमा योगदान गरी दोस्रो व्यक्ति मात्रै भएर रिटायर्ड हुनुभएको छ । उहाँहरूको योगदानलाई कदर गरी अवसर दिन्छु । पार्टीको मात्रै होइन । आम नागरिकको समस्यामा सँगसँगै हिँड्छु ।