झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । 

सोमबार बिहान ३ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट एउटा पूरै युनिट जलेर नष्ट भएको छ । 

आगलागीबाट फ्याक्ट्री, त्यहाँ रहेका मेसिन, ट्रयाक्टर, जेसीबी, कच्चा पदार्थ, तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको संचालक आदित्य पराजुलीले बताए । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५० लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको उनले जानकारी दिए । 

आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका छन् । त्यस्तै स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी रहे पनि अझै निभाउन नसकिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रमेशकुमार पाण्डेले  जानकारी दिए । 

तीनवटा डोजर र चारवटा टिपर ले सफा गर्ने काम गरेकाले केही घण्टाभित्र नियन्त्रण हुन सक्ने उनले अनुमान लगाएका छन् । 

निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोको क्षतिको विवरण अनुमान गर्न नसकिएको उनको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले ७ वटा दमकलसँगै स्थानीयको सहयोगसहित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्दा पनि आगो पूर्ण रुपमा निभाउन नसकिएको बताए । 

उनले आगो नियन्त्रणमा लिन यति नै समय लाग्ने भनेर यकिन गर्न नसकिने जानकारी दिए । बिर्तामोड नगरपालिकाका दमकल इञ्चार्ज चन्द्रबहादुर पौडेलले आफूहरु विहानैदेखि लगातार खटिरहे पनि आगो निभाउन नसकिरहेको बताए । कुनै दमकलले बाहिरबाट र कुनै दमकलले भित्रपट्टीको आगो निभाउने प्रयास गरिरहेको उनले जानकारी दिए । 

उद्योगी चण्डी पराजुली र उनका छोरा आदित्य पराजुलीले सञ्चालन गरेको सो उद्योगमा विद्युत सर्ट भई अचानक आगलागी भएको प्रहरीको अनुमान छ । करिब तीन वर्षअघि सो फ्याक्ट्री स्थापना गरिएको हो । फ्याक्ट्री डेढ बिघा क्षेत्रफलमा फैलिएको छ ।