कोराना संक्रमणको पहिलो चरणमा प्रभावित बनेका कृषकहरु अहिले थप निराश भएका छन् । ६ महिना पनि राम्रो खेतीबाली गर्न नसकेका कृषकहरु संक्रमणको दोस्रो चरण तीव्र रुपमा देखिएपछि झनै चिन्तित बनेका छन् । 

Tarkari_kheti_Barahakshetra_raghu_chandrabanshi1

वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी के हुने हो ? भन्ने चिन्ताले सताएको बताउँछन् । संक्रमणको असर कृषि बालीमा पनि देखिन थालेको कृषक रघुवीर चन्द्रवंशीले बताए । दैनिक २ सय केजी खपत् हुने बजार खुम्चिएर अहिले ५० देखि ६० केजी पनि तरकारी खपत् हुन सकेको छैन । ‘गत वर्ष पनि लकडाउनले बारीमै तरकारी कुहियो यो वर्ष के हुने हो ? के गर्ने बुझ्नै सकिएको छैन,’ कृषक चन्द्रवंशीले भने, ‘दुईचार दिनअघिसम्म बजारमा तरकारी पुर्याउन मुस्किल थियो अहिले पचाससाठी केजीमात्रै गइरहेको छ ।’

गत वर्ष वराहक्षेत्र नगरपालिकाले तरकारी बारीमै कुहिएको खबर पाएपछि बिक्री वितरणका लागि कृषि बजार स्थापना गर्ने काम गरिदिएको थियो । तर यसपाली नगरले कस्तो व्यवस्था गरिदिने हो ? किसान चिन्तित छन् । 

साझेदारीमा सञ्चालित सुन्दर कृषि फार्ममा अहिले बैगुन, करेला, टमाटार, खोर्सानी, काँक्रालगायतका तरकारी बाली उत्पादन भइरहेको कृषक छविलाल चौधरी बताउँछन् । ‘पोहोर नगरले साझामा लगेर बेच्ने वैकल्पिक व्यवस्था गरेको थियो । अब यसपाली के हुने हो ? हामी पर्खिरहेका छौं ।’ चौधरीले चिन्ता व्यक्त गरे ।  

Tarkari_kheti_Barahakshetra_raghu_chandrabanshi2

कृषि फार्ममा उत्पादित तरकारी बिक्रीका लागि बजार खोजिरहनु पर्ने आवश्क्ता थिएन । व्यापारीहरु यहीँ आएर लिएर जाने गर्थे । हाटबजार गर्ने व्यापारीहरु, घरमै पसल खोलेर बिक्री गर्नेहरु र गाडी लिएर ठेक्का गरेर लानेहरु पनि सुन्दर कृषि फार्ममै आउँथे । तर अहिले यो क्रम २५ प्रतिशतभन्दा पनि कममा झरेको छ ।  

अघिल्लो लकडाउनदेखि हालसम्म ६ महिना तरकारी बाली लगाएका यी युवाले ३ बिघामा तरकारी खेती गरिएका छन् । ‘केही बालीले उत्पादन दिइरहेको छ, कुनै उत्पादनका लागि लगाइसकिएको छ भने कोही लाउने क्रममा छौं, साझेदार अमिर निरौलाले भने, ‘८ लाख रुपैयाँ बारीमै कुहिएर गयो, अहिले पनि अवस्था उस्तै छ । बजार पाइएन भने बेहाल होला जस्तो छ ।’

बजारको अभावमा तरकारी टिप्नै नपाउने अवस्था आए यो सिजनमा पनि ८–९ लाखसम्मको घाटा लाग्ने रघु चन्द्रवंशीको अनुमान छ । तर २ महिना सहज तरिकाले बिक्री गर्न पाए राहत हुने उनी बताउँछन् । 

‘पोहोर पनि चैतदेखि लकडाउन भएको थियो, लकडाउनले कस्तो रुप लिने हो थाहा छैन, जति खपत हुनुपर्ने भइरहेको छैन, समस्या छ ।’ कृषक चन्द्रवंशीले भने । 

Tarkari_kheti_Barahakshetra_raghu_chandrabanshi3

वराहक्षेत्र– ९ स्थित ढोलबजिया कृषिका लागि अब्बल मानिन्छ । उत्पादन राम्रो भएकाले नै यहाँका मानिस व्यावसायिक कृषितर्फ आकर्षित छन् । वर्षौ पहिलेबाट तरकारी खेती गर्दै आए पनि विगत २ वर्षअघिदेखि यहाँका कृषकलाई नगरपालिकाले सञ्चालन गरेको आईपीएम कृषि पाठशालाले उर्जा थपेको थियो ।

चार महिनासम्म तरकारीको बेर्ना राख्दादेखि फल फलाउनसम्म नगरपालिकाले तालिम दियो त्यसैको फलस्वरुप अहिले धेरैले तरकारी खेती लगाएको कृषक बताउँछन् ।

सुन्दर कृषि फर्म ३ जना साझेदारले सञ्चालन गरेका छन् । अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरी तीनै जना वैदेशिक रोजगारीबाट फर्केका युवा हुन् ।