विजयपुर/वराहक्षेत्र नगरपालिकाले आगामी तीन वर्षका लागि कृषि र पर्यटनलाई प्राथमिकता दिदै प्रारम्भिक आवधिक योजना एकीकृत गर्न थालेको छ ।

आईतबारदेखि वराहक्षेत्र नगरपालिकाको सभाहलमा सुरु भएको गोष्ठीमा कृषि र पर्यटनलाई प्राथमिकता दिदै पुर्वाधार निर्माण र आयमुलक क्षेत्रमा लगानी बढाउने बिषयमापनि योजना निर्माण भएको बराहक्षेत्र नगरपालीकाका प्रेस संयोजक नवराज बिष्टले जानकारी दिए । नगरपालिकाद्वारा गठित शाखा र वडाका प्रनितिनिधिबाट योजना एकीकृत गर्न सुरु गरेको नगर कार्यपालिका प्रवक्ता रुद्र दाहालले जानकारी दिए ।

‘अहिले प्रारम्भिक रुपमा नगरपालिकाद्वारा गठित शाखाहरू र कार्यपालिका सदस्यबाट योजना छनोट भइरहेका छन्’ प्रवक्ता दाहालले भने, ‘ प्रारम्भिक योजना छनोट गरिसकेपछि जनताको प्रत्यक्ष सहभागितामा योजना छनोट हुन्छ र आगामी तीन वर्षका लागि योजना तर्जुमा गरिन्छ ।’ पर्यटन र कृषिलाई आवधिक योजनामा प्रमुख प्राथमिकतामा राखेको नगरपालिका प्रमुख निलम खनालले बताए । वराहक्षेत्र नगरपालिकाको मुख्य आय स्रोतको रुपमा पर्यटनलाई विकास गर्नुपर्ने बताउँदै प्रमुख खनालले नगरको आन्तरिक आय वृद्धि गर्ने स्पष्ट चित्र बनाउने गोष्ठी फलदायी हुने बताए ।

वराहक्षेत्र नगरपालिकाले आयोजना तथा विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा आवधिक योजना तर्जुमा गोष्ठी भएको हो ।