विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामाना गर्ने बताएका छन् । मुख्यमन्त्री राईले आइतबार संचारकर्मीहरूसँगको कुराकानीमा सुविधाजनक बहुमतका साथ आफु विरूद्धको अविश्वासको प्रस्ताव सामना गर्ने भएका हुन् ।
मुख्यमन्त्री राईले विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफ्नो पद जोगिने विश्वास गरेका छन् । ‘यो सुनियोजित, निर्देशित, चालबाजी, गोटी हो भन्ने प्रदेश सांसदहरुलाई राम्रो थाहा छ’, मुख्यमन्त्री राईले भने, ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको छ ।’
प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गरेका छन् ।
उनले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत पनि गरे । ‘यो स्वभाविक र प्राकृतिक जगबाट आएको होइन । त्यसैले प्रदेशसभाको सम्पूर्ण दलहरु छलफल गर्छौ । सबै दलहरु बीचको सहमति बन्छ’, राईले भने । मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव पेस गरेपछि दलहरु गम्भीर भएका दाबी गरेका छन् ।
‘अविश्वासको प्रस्ताव आएपछि सबै दलहरु गम्भीर हुनुहुन्छ । किनकि, यो प्रदेशमाथि नै प्रहार हो,’ मुख्यमन्त्री राईको भनाई छ ।’ मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वास प्रस्ताव केन्द्रकै असर भएको तर्क गरेका छन् । आफूले प्रदेशलाई गतिका साथ अगाडि बढाइरहेको र अविश्वास ल्याउनुपर्ने कारण नरहेको बताए ।
राईले संसद विघटनको प्रस्ताव सही कदम भएको बताएका छन् । ‘प्रधानमन्त्रीलाई बन्द कोठाभित्र राखेर लेनदेन गर्न घेराबन्दी गरियो । त्यसैले विकल्पमा ताजा जनादेशमा जाने निर्णय गर्नुभयो,’
उनले भने, ‘त्यही विकल्प सही थियो ।’ संविधान र संघीयता असफल पार्दै प्रतिगामीहरुलाई बल पुग्नेगरी नेकपाकै नेताहरुले प्रधानमन्त्रीलाई घेराबन्दी गरिएको उनको भनाई छ ।