विराटनगर । नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले छेक्कापन्जा गरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टीअध्यक्ष दुवै पदबाट अटाउन नसकिने बताएका छन् ।
पार्टीभित्र विवाद भयो भन्दैमा प्रधान्मन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने नेता बास्कोटाले बताएका हुन् ।
विराटनगरमा आइतबार संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता बास्कोटाले विधि, प्रकृया भनेकै नेतृत्व मधाधिवेशनबाट परिवर्तन हुने र प्रधानमन्त्री आम निर्वाचनबाट परिवर्तन हुने बताए ।
‘उहिल्यै सिपि मैनालीलाई पाँचसात जना मिलेर फालेजस्तो अहिले सकिदैन, त्यसरी फाल्न थाल्ने हो भने नातिलाई डोको जिम्मा लगाए जस्तो हुन्छ नातिले पनि फाल्छ,’ उनले भने, ‘ उहाँहरु पाँच जनालाई जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन ।’
नेता बास्कोटाले प्रधानमन्त्री फेर्ने हो भनेपनि संसदीय दल फेस गर्नुपर्ने उनको भनाई थियो । ‘बहुमत सदस्यले आफ्नो बिचार राख्न सक्दछन् । प्रधानमन्त्रीको पदबाट हटाउन पार्टीको निर्णायले मात्र सम्भव छैन,’ उनले भने, ‘संवैधानिक विधि भनेको संसदीय प्रक्रिया हो । संसदीय प्रक्रियाबाट मात्र त्यो सम्भव छ । अरू सबै छक्कापन्जा मात्र हुन् ।’
उनले प्रधानमन्त्री केपी ओलीलाई विधि, प्रकृया र अचरणको सर्टिफिकेट दिने हैसियत नेताहरुसँग नरहेको पनि बताए । गुटगत भेलाहरुलाई सम्वोधन गर्न पूर्व आएका बास्कोटाले केपी ओलीलाई नेपाली जनताले मात्र क्यारेक्टर सर्टिफिके दिने जिकिर गरे ।
पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउन खोजिएकोप्रति उनले विरोध जनाए । बहुमत र अल्पमतले पार्टीलाई दुर्घटनामा पुर्याउने दावी गर्दै त्यसतर्फ जाने हो भने आउने चुनौति पार्टीहरुले व्यहोर्न तयार हुनुपर्ने उनको भनाई थियो ।
पत्रकार भेटघाटकै क्रममा उनले मुलुकलाई जबरजस्ती हिंसामा लैजाने र व्यक्तिहत्या गर्ने प्रत्यन भएको भन्दै विप्लव समूहको कृयाकलापप्रति विरोध जनाए । उनले मोरङको मिक्लाजुङमा शिक्षक हत्याको विरोध गर्दै व्यक्तिहत्या अस्वीकार्य हुने बताए ।
सत्तारुढ दलमा विवाद देखिएको मौकामा देशमा राजा फर्काउने नाममा स्वस्थानी कथा बाचन हुनथालेको टिप्पणी गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र प्रजातन्त्रमा विप्लवको जस्तो व्यक्तिहत्या स्वीकार्य नहुने टिप्पणी गरे ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि पछिल्ला दिनमा भइरहेको टिप्पणी र लागेको आरोपका बारेमा कुनै प्रतिकृया नदिने भन्दै उनले भने ‘मेरो विषयमा आरोप लागेपछि मैले ४८ घण्टा नबित्दै राजिनामा दिएं तर मबाट सिक्नुस् भनेर त म आदर्शवान नेताहरुलाई कसरी भन्न सक्छु र ? त्यसमा पनि केपी ओली जस्तो व्यक्तिलाई सर्टिफिकेट दिने नेताहरुले के गर्नु पर्ने हो गर्नुहोला ।’