धनकुटा । जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं विदेश विभाग प्रमुख रकम चेम्जोङ्गले राजतन्त्र फर्किन्छ भनेर कल्पना गर्नु बेकार भएको बताएका छन् ।

जनता समाजवादी पार्टी जिल्ला कार्य समिति, धनकुटाले वुधवार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता चेम्जोङ्गले यस्तो बताएका हुन् । पुर्व शान्ति मन्त्री समेत रहेका चेम्जोङ्गले मूलुकको राजनीति निराशाजनक अवस्थामा गुज्रिरहेको बेला देशी विदेशी शक्तिहरुको चलखेलमा राजावादीहरु सल्बलाए पनि राजतन्त्र फर्किएर आउँछ भनेर कल्पना गर्नु वेकार हुने दावी गरे । नेता चेम्जोङ्गले वर्तमान सरकारको रवैया देख्दा र शासन पद्धती हेर्दा मूलुकमा सरकार छ कि छैन ? भन्ने भान नेपाली जनतालाई भैरहेको वताए ।

जनताको पक्षमा शासन सत्ता संचालन भएको छैन भन्दै नेता चेम्जोङ्गले भने–‘अहिलेको सरकार राजनीतिक स्वार्थको लागी मात्र सत्ता संचालन गरिरहेको छ ।” कोभिडले नेपाली जनता आक्रान्त भैरहेको बेला सरकारले नाटक देखाई रहेको र समस्याको समाधन हैन, झन वढी समस्या देखाएर सरकार आफ्नो कर्तव्यबाट पन्सिरहेको दावी चेम्जोङ्गको थियो । कोरोनाले जनतामा मानविय संकट, स्वास्थ्य संकट हुँदा पनि कोभिड व्यवस्थापनमा सरकाले भ्रष्टचार गरेको आरोप लगाउँदै नेता चेम्जोङ्गले अहिलेको सरकारलाई राजनितिक संकट भन्दा पनि शासकिय असक्षमताको कारण शासनमा संकट उत्पन्न भैरहेको दावी गरे ।

उनले २ दिनअघि मोरङ्गको मिक्लाजुङ्गमा भएको शिक्षक हत्याको घटनाको विषयमा पत्रकारहरुले उठाएको जिज्ञासामा कोही कसैले व्यक्ति हत्यामा उत्रिनु राम्रो नभएको बताए । उनले घट्नाको विप्लव नेतृत्वले जिम्मा लिए पनि यसरी व्यक्ति हत्या गरेर राजनीतिमा कहिले पनि सफलता नपाईने भन्दै शान्तिपुर्ण वाटोमा आउन आग्रह गरे ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष बलवहादुर राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका यूवा नेताहरु अर्जुन थापा, राजकुमार राई, जिल्ला स्तरिय नेताहरु नगेन्द्र देवान, राम रायमाझी, विकास घिमिरे, पार्वती राई लगायतको उपस्थिति रहेको थियो । नेता चेम्जोङ्ग जिल्ला स्तरिय संगठन विस्तार एवं पार्टी समायोजनको शिलसिलामा केही दिन देखी आफ्नो गृह जिल्ला धनकुटा खटिरहेका छन् ।