बिर्तामोड । प्रदेश नं. १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बाेले गरिबी न्युनीकरण गर्दै देश समृद्धितर्फ लाने यात्रामा कसैले राजनीति गर्न नहुने बताएका छन् । झापाको मेचीनगरममा आयोजित एक कार्यक्रममा मन्त्री आङबोले सम्पुर्ण राजनीतिक दलको एजेण्डा समृद्धि भएको हुनाले त्यसमा राजनीतिकरण गरेर अवरोध नगर्न अनुरोध गरे ।

समृद्धि सबैको साझा एजेन्टा भएकाले त्यसलाई साझा बनाउन सबै रानीतिकदलको भूमिका हुनु पर्नेमा उनले जोड दिए । प्रदेश सरकारले निम्न आय भएका सर्वसाधारणको पहिचान गरी कोरोना भाइरस उपचार निःशुल्क गराउँदै आएको बताउँदै अवस्था हेरेर स्थानीय तहहरुमा ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्न शुरु गरिएको मन्त्री आङ्बाेले बताए ।

प्रदेश सरकारले २ बर्ष भित्रमा स्वास्थ्य, खानेपानी, सिंचाई, विजुली सवैको पहुँचमा पुर्याउने योजना रहेको समेत उनले बताए । मेचीनगर–६ मा कार्यालय रहेको महेन्द्रद्धार सहकारी संस्थाको  ३१ औ बार्षिक साधारणसभा तथा प्रदेश सरकारको सहयोगमा स्थापना गरेको जडिवुटी प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री आङ्बाे उक्त कुरा बताएका हुन् ।

सामान्तवादी सोचलाई परिवर्तन गर्न सहकारीको ठूलो भुमिका भएको बताउँदै मन्त्री आङ्बाेले सहकारीले कृषि उत्पादन र त्यसको बजार ब्यावस्थापनमा ध्यान दिन जरुरी रहेको बताए । सो प्रशोधन केन्द्रमा तयार हुने तेजपत्ताको  तेलको बजार राम्रो भएको जानकारी दिदै बजारको खोजी गरी विदेशी मुद्रा आर्जन गर्न सहकारीलाई आग्रह गरे ।

तेजपत्ताको तेल बिभिन्न रोगको औषधीको लागि कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । नेपालमा उत्पादित तेल बिश्वका बिभिन्न देशमा निर्यात हुने संस्थाले जनाएको छ । कृषि उत्पादन मार्फत बिदेशी मुद्रा आर्जन गर्ने भरपर्दाे स्रोत यो उद्योग हुने सञ्चालकको दावी छ ।

प्रदेश नं. १ का कृषि तथा राज्य मन्त्री रामबहादुर राना मगरले सहकारीले बचत तथा ऋणको मात्र कारोवार गरेकोले अब सदस्यलाई व्यवसायिक बनाउनु पर्ने बताए । सहकारीले कृषि उत्पादनमा नयाँ प्रयोग गर्दै त्यसको ब्यापार प्रवद्र्धनमा लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार दाहाल(राजु) ले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष पुस्कलकुमार बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार समिति सदस्य डिल्लीराम घिमिरेले गरेका थिए ।