धरान । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड बीच एक्लाएक्लै छलफलपछि नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ। 

ओली–दाहालबीच कात्तिक २५ गते यता पहिलोपटक संवाद भएको हो। उनीहरु बीच सम्बन्ध चिसिएपछि मंसीर १७ गतेको बैठकमा ओली सहभागी थिएनन्। ओली र दाहालले सचिवालय बैठकमा प्रस्ताव पत्र मार्फत एक अर्कालाई आरोप लगाएका थिए । त्यसपछि उनीहरु बीच सचिवालय बैठकमै भनाभन भएको थियो ।

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले शनिबार बिहान शंकर पोखरेल, सुवास नेम्वाङलगायत आफूनिकटका नेतासँग परामर्श गरेका थिए। भने अध्यक्ष दाहालले पनि आफ्नो समूहमा रहेका सविचालय सदस्यसँग परामर्श गरेका थिए। ओली पक्षका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत शनिबार बिहान दाहाललाई भेट्न खुमलटार पुगेका थिए। 

शनिबारको सचिवालय बैठकमा दुवै अध्यक्षले पेश गरेका प्रस्तावमा छलफल हुने भएको छ ।