भद्रपुर । देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा भने आफैँ प्रदर्शनको आयोजना गर्ने भएको छ । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार विशाल मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको हो ।
झापामा हुने वृहत् कार्यक्रममा दशौँ हजारको सङ्ख्यामा प्रदर्शनकारी उतार्ने राप्रपाको तयारी रहेको प्रचारप्रसार समितिका संयोजक रञ्जित प्रसाईंले बताए ।
प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा प्रस्थान गर्ने उनले जनाए । हरेक स्थानीय तहबाट ११ बजे र्याली निस्कने र काँकडभिट्टा जाने उनको भनाइ छ ।
दिउँसो साढे १२ बजे काँकडभिट्टाबाट एकीकृत र्याली प्रारम्भ हुने र साढे एक बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम सम्पन्न हुने संयोजक प्रसाईंले बताए । कार्यक्रममा सहभागी हुनेले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ ।
प्रदर्शनको अग्रपंक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली काँङ्ग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली काँङ्ग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायत समेत रहने आयोजकले जनाएको छ ।
हिन्दु राष्ट्र स्थापना र राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रर्दशनमा राज्यले दमन गरे त्यसले अर्को जनआन्दोलनको रुप लिने राप्रपा नेता राजेन्द्र लिङदेन बताउँछन् ।
प्रदर्शनले सरकार अतालिएको उने जनाए । प्रदर्शनको नेतृत्व सङ्घीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजिविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्यालीको आयोजना गर्न लागिएको लिङ्देनले बताए ।