संखुवासभा । पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता तारामान गुरुङले कम्युनिष्ट सरकार विकास विरोधी रहेको बताएका छन् ।

खाँदबारीमा आयोजित विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध सरकारले ज्यादती गरेको र भ्रष्टाचारामा लिप्त भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाले विहिबार विरोध सभाको आयोजना गरेको हो । सभामा बोल्दै उनले सरकारको बेथितिको लागि खबरदारी गर्नका लागि विरोध सभा गर्नु परेको बताएका छन् ।

विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको ठाडो निर्देशनमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको आरोप लगाए । उनले नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल विरुद्ध सरकारले ज्यादती गरेको र अमानवीय काम गरेको भन्र्दै चर्को विरोध गरे ।

आगामी दिनहरुमा समेत कोही कसैलाई सरकारको ठाडो निर्देशनमा बिना कारण पक्राउ गर्नु भनेको हामीले जे गर्दा पनि हुन्छ भनेर भन्ने दम्भ बढेको पूर्वमन्त्री गुरुङको भनाइ थियो । उनले विरोध सभा कार्यक्रममा वर्तमान सरकार भ्रष्टचार लिप्त भएको र विकास विरोधी भएको समेत आरोप लगाए । ‘म स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्रीको कार्यभार सम्हालीरहेको समयमा संखुवासभा जिल्लामा विभिन्न विकास योजना पठाएपनि अहिलेका वर्तमान सरकारले ठाडो कटौती गरेको छ । पाँचखपनमा १५ बेडको अस्पताल तोकेका ठाउँमा अहिले १० बेडको आधारभूत अस्पताल शिलान्यास गरियो भन्ने सुन्दैछु । किन यस्तो गरियो ।’—पूर्वमन्त्री गुरुङले भने–‘किमाथांका नाका खोल्न २ सय ९८ करोड रुपैया बजेट बिनियोजन गरिएको थियो । त्यो पनि अहिले कटौती गरिएछ ।’

वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीको आन्तरिक विवादमा रुमल्लिरहेको कारणले विकास निर्माणको काम ठप्प बनाएको आरोप लगाए ।

गएको कात्तिक २६ गते संखुवासभाको किमाथांका नाका र अरुण तेस्रो जलविद्युत्त आयोजनाको अनुगमनमा आएको भनिएपनि संखुवासभा भ्रमण रमाईलो गर्न मात्रै आएको टिप्पणी गरे । स्थानीय नागरिकहरु र प्रतिपक्षलाई समेत थाहा नदिई सुटुक्क संखुवासभा आएको समेत आरोप लगाए ।

नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको रुपमा सडक र सदनबाट बलियो गरि खबरदारी गरिरहेको बताउर्दै मौन लागेर नेपाली काँग्रेस नबसेको उनको भनाई थियो ।

नेपाली काँग्रेसको आयोजनामा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेको घटनको विरोध गर्न काँग्रेस तातिएको हो । उक्त विरोध सभा कार्यक्रममा संखुवासभा जिल्ला सचिव डम्बर बस्नेत, क्षेत्र नं. १ सभापति उमेश चौहान, क्षेत्र नं. २ का सभापति दिपक लिम्बु लगायतले वर्तमान सरकारको विरोध जनाएका थिए ।