ब्लाष्टखबर । तनहुँमा पुल उद्घाटनकाे विषयलाई लिएकाे बढेकाे तनावका कारण हिजाे तीन घण्टाका प्रहरी हिरासतमा बसेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज साे पुलकाे उद्घाटन गरेका छन् ।
बुधबार व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलाकाे मोटरेवल पुल उद्घाटन गर्नका लागि पुगेका उनीलगायत नेपाली काङ्ग्रेसका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले तीन घण्टा हिरासतमा राखेकाे थियाे ।
स्थानीय विकास मन्त्रालयमार्फत २०७३ वैशाखमा सम्झौता भएर २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको उक्त पुलकाे उद्घटन गर्न पुगेका पौडेललाई सङ्घीय सरकारको बजेटमा बनेको योजनामा प्रतिपक्ष दलका नेताले उद्घाटन गरेको भन्दै नेकपाका कार्यकर्ताले विरोध गरेका थिए ।
सोही विरोधका क्रममा नै झडपको स्थिति सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले अपरान्ह १२ बजेदेखि ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पौडेललगायत काङ्ग्रेसका नेताले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासनले जनाएको छ ।
आज पौडेलसहितका जिल्ला नेता र सयौँ कार्यकर्ता सरकारविरुद्ध चर्को नाराबाजी गर्दै बुल्दी खोलामा पुगेर पुलकाे उद्घाटन गरेका हुन् । पुल उद्घाटन संगै त्यस स्थानमा आमसभा भइरहकाे छ । सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।