धरान/नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । नेता पौडेल आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रहरीले आफूलाई पक्राउ गरेको जानकारी गराएका छन् ।
नेता पौडेलसँगै काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले मगरलाई पनि नियन्त्रणमा लिइएको छ । नेता पौडेलले प्रहरीको यस कार्यलाई एकदमै निन्दनीय भनेर फेसबुकमा लेखेका छन् ।
यता नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता पौडेल र आलेलाई तत्काल रिहा नगरे देशभरि प्रतिरोध गर्ने चेतावनी दिएका छन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनमार्फत् किन पक्राउ गरिएको हो, तत्काल छाड्नू भनेका छन् । नेता पौडेलले तनहुँको एक पुल उद्घाटन गर्ने क्रममा नेकपाका कार्यकर्ताले अवरोध गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो । सो क्रममा नेता पौडेललगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोलाको मोटरेवल पुल उद्घाटन गर्नका लागि पुगेका उनीलगायत नेपाली काङ्ग्रेसका अन्य नेताहरूलाई नेकपाका कार्यकर्ताले अवरोध गरेका थिए । अवरोधपछि उक्त स्थान तनावग्रस्त बन्न पुगेको थियो । दुवैपक्षबीच तनावपूर्ण वातावरण बनेपछि जिल्ला प्रशासन कार्यालयले अपरान्ह १२ बजेदेखि ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पौडेललगायत काङ्ग्रेसका नेताले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासनले जनाएको छ ।
पौडेललगायतको रिहाइको माग गर्दै तनहुँमा जिल्ला प्रहरी कार्यालय अगाडि नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले नेकपाका स्थानीय पाँच जना कार्यकर्तालाई पनि नियन्त्रणमा लिएको छ । सङ्घीय सरकारको बजेटमा बनेको योजनामा प्रतिपक्ष दलका नेताले उद्घाटन गरेको भन्दै नेकपाका कार्यकर्ताले विरोध गरेका थिए । सोही विरोधका क्रममा नै झडपको स्थिति बनेको थियो । नेता पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।