धरान । बामपंन्थी राजनितिका चिन्तक विए कृष्णप्रसाद श्रेष्ठको निधन भएको छ ।

धरानको छाताचोकस्थित आफ्नै निवासमा ८७ बर्षीय श्रेष्ठको आइतबार निधन भएको हो । २० को दशकमा उनी रसियन कम्यूनिष्ट पार्टीको सम्मेलनमा सहभागी हुन नेपालबाट दुइ पटक नेतृत्व गरेका थिए । श्रेष्ठका एक श्रीमति, २ छोरा, ३ छोरी छन् ।

विसं २००६ सालमा धरानको पव्लिक माविबाट एसएलसीको पहिलो व्याचमा प्रथम श्रेणी ल्याएपछि उच्च शिक्षा अन्तर्गत धरानकै पहिलो स्नातक (विए) गरेकाले उनको नामको अगाडि विए उपनाम पाएको प्रा डा राजेन्द्र शर्माले बताए । तत्कालिन कम्युनिष्ट पार्टीका नेताहरु मनमोहन अधिकारी, पुस्पलाल श्रेष्ठ, केशरजंग रायमाझी, कृष्णराज वर्मासंगै बामपन्थी राजनितिमा सक्रिय रहेका स्वर्गीय श्रेष्ठ ०१५ सालमा धरानका पहिलो उप मेयर पनि बनेका थिए । धरान १ बाट वडाध्यक्षमा विजयी भएपछि उपमेयरको निर्वाचन नभएको अवस्थामा उनलाई उपमेयर बनाइएको थियो ।

रसियनबादी कम्यूनिष्ट भनेर चिनिएका श्रेष्ठ पुस्पलालहरुले केशरजंग रायमाझीलाई कारवाही गरेपछि रायमाझीले पार्टी फुटाएर नेपाल कम्यूनिष्ट पाटी (कृष्णराज वर्मा समुह) बनाएपछि मृत्युपरन्त त्यसैको केन्द्रीय सदस्य रहेका थिए । विभिन्न दर्शन, साहित्यको अध्ययनमा सक्रिय श्रेष्ठले आफ्नै घरमा निजि पुस्तकालय समेत बनाएका छन् ।

उनकाे निधनमा धरान उपमहानगरपालिकाले साेमबार शाेक विदा  दिएकाे छ ।