झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको समस्या सचिवालय बैठकले समाधान नगरे स्थायी कमिटीको बैठकले निर्मम निर्णय गर्ने बताएका छन् ।

पार्टी फुट्दा पार्टी मात्र नभएर देशको भाग्य पनि फुट्ने बताउँदै मन्त्री भट्टराईले सचिवालय बैठकलाई इंकित गर्दै स्थायी कमिटिको वैठकले निर्मम निर्णय बाध्य हुर्ने बताए ।

झापाको बिर्तामोडमा सञ्चालनमा आएको सिदार्थ होटल ग्राण्ड सिटी प्रालिको उद्घाटन समारोहमा शनिवार मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् । उनले राजावादीलाई इकित गर्दै भने ‘मरेका भूतप्रेतहरुले आन्दोलन गर्दैछन्, नेकपा टुटे तीनीहरुले सलवलाउने मौका पाउनेछन् ।’ नेपाली जनताको आवश्यकताले बनेको नेकपाले यो संकट पार लगाउने मन्त्री भट्टराई बताए ।

सन् २०२१ आन्तरिक पर्यटन वर्ष
मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन बर्षका रुपमा अघि बढाउने योजना रहेको बताएका छन् । ‘कोभिड–१९ सँग संघर्ष गर्दै पर्यटनलाई अघि बढाउने सरकारको नीति रहेको छ ।’ मन्त्री भट्टराईले भने ।

५० करोडको लगानीमा ६ कठ्ठा जग्गामा सञ्चालनमा आएको होटलमा ५१ वटा सुविद्या सम्पन्न कोठा, ५ वटा वेग्ला बेग्लै रेष्टुरेन्ट, स्वीमिङपुल, २ वटा सेमिनार हललगायतका सेवा सुबिधा रहेको होटल सञ्चालक होम पाण्डेले बताए ।

होटलका अध्यक्ष देवीप्रसाद मैनालीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सिदार्थ ग्रुपका कार्यकारी प्रमुख कृष्ण न्यौपाने, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, बिर्तामोड नपा ४ का अध्यक्ष कुलप्रसाद संग्रौला,उद्योग परिषदका अध्यक्ष मिनप्रकाश मैनाली, प्रदेशसभा सदस्य एकराज कार्की, संघीय सांसद गणेशकुमार पहारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत होटल सञ्चालक होमप्रसाद पाण्डेले गरेको कार्यक्रमको सञ्चालन होटल सञ्चालक डिल्लीराम मैनालीले गरेका थिए ।