लामो समय जनप्रतिनिधिविहीन स्थानीय तहमा निर्वाचित भएर आउँदा केही समस्याहरु थिए ?
–लामो समयावधि जनप्रतिधि नभएको नगरमा केही समस्या त हुने नै भयो । ठूला समस्या समाधान गर्दै अगाडि बढ्यौं । निर्वाचित जनप्रतिनिधि आएपछि नगरवासीका आकाङ्क्षा धेरै छन् । नगरवासी मेरो क्षेत्रको विकास होस् भन्ने पक्षमा हुनुहुन्छ । तर, नगरको आम्दानी छैन । आम्दानी नभएपछि त्यो कार्य गर्ने नगरसँग क्षमता छैन ।

राजस्व वृद्धि धेरै गर्नुभयो भन्ने पनि गुनासो थियो, आम्दानी बढेन र ?
–स्थानीय तहलाई राजस्व हेरफेर गर्ने अधिकार छ । अधिकारको प्रयोग गर्दै राजस्व वृद्धिभन्दा पनि दायरा फराकिलो बनाएका हौँ । त्यो मैले गरेको होइन । विज्ञ टोलीले दिएको सुझावका आधारमा हेरफेर गरिएको थियो । त्यसलाई राजनीतिकरण गरेर जनतामाझ गलत म्यासेज लगिएको मात्र हो । नगरवासीलाई मारमा पार्ने गरी वृद्धि गरिएको होइन । व्यवहारिक र वैज्ञानिक ढङ्गले गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐनले उपमहानगरपालिका हुन कम्तिमा २५ करोड आम्दानी हुनुपर्छ भनेको छ । तर, अहिले पनि हुन सकेको छैन । धरान नगरको आम्दानी समकालीन उपमहानगरपालिकाको तुलनामा न्यून रहेको छ । राजस्व सुधारको योजना नभएर हो । यो पटक केही सुधार गर्ने प्रयत्न गरेका छौँ ।

तपाईं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । के कति र कस्ता मुद्दाहरू आएका छन् ? कति समाधान गर्न सफल हुनुभयो ?
–न्यायिक समितिमा धेरैजसो सँधियारसम्बन्धी समस्याहरू आएका छन् । अन्य खान लाउन नदिने, लेनदेन, घरबहाल, श्रमिकले ज्याला नपाएको लगायतका समस्याहरू आएका छन् ।

मैले फैसला गर्नेभन्दा पनि दुवैपक्षले मैले विजय गरेँ भन्ने पार्न सफल भएको छु । एक आर्थिक वर्षमा ८७ वटासम्म मुद्दाहरू आएका छन् । हामीले ९९ प्रतिशत सम्पादन गरेका छौँ । यो आर्थिक वर्षमा कोरोना भाइरसका कारणले अलि कम भएको छ ।

न्याय सम्पादन गर्ने क्रममा केही समस्या पनि आएका छन् ?
–कोरोना भाइरसको कारणले मात्रै समस्या आएको हो । अहिलेसम्म खासै समस्या आएको छैन । हामीसँग न्यायालयमा काम गरेकाहरूको समूह भएकोले समस्या आएको छैन ।

बजार अनुगमन समितिको पनि संयोजक हुनुहुन्छ, अनुगमन कति प्रभावकारी छ त ?
–बजार अनुगमनमा धरान नगर सर्वोत्कृष्ट छ । बजार अनुगमन धरानमा जति कहीँ भएको छैन जस्तो लाग्छ । अनुगमन मात्र होइन, अनुगमनमा भेटिएका गलत कुराहरूलाई निरुत्साहित गरेका छौँ ।  व्यापारीहरूको सामान जफतसमेत गरेर कारबाही गरेका छौँ ।

भर्खरै ३ सय ८० पुगेको बोइलर कुखुराको मासु अहिले २ सय ८० मा झारेका छौँ । त्यो बजार अनुगमन नगरेको भए हुन्थ्यो ? हामीले त अनुगमन गरेपछि वस्तु गुणस्तरीय छ कि छैन भनेर हात्तीसार क्याम्पससँगको सहकार्यमा परीक्षण गर्ने गरेका छौँ । अनुगमनको कारणले धरानको भान्सा सस्तो भएको छ । कतिपय अनुगमन यहाँ गरेर हुँदैन । त्यसबारे माथिल्लो तहका सरकारलाई जानकारी गराएका छौँ ।

तपाईं नै कार्यवाहक प्रमुख भएको बेला बसपार्क शिलान्यास गर्नुभयो । २२ महिनापछि पुनः अन्य आयोजनाको डिपिआरको लागि भन्दै सूचना प्रकाशित भएको छ । काम कहिले शुरु हुन्छ बसपार्कको ?

–तीनकुने सुन्दरबस्ती आयोजना बसपार्कको मात्र आयोजना होइन । यो कथा बनिसकेको छ । शिलान्यास किन भएको भन्ने प्रश्न छ । बीसौंँ वर्षदेखि विवादमा रहेको आयोजना समाधान गरेर शिलान्यास गरेको हो ।

अहिले डिपिआर तयार भएको छ । मैले शिलान्यास गरेको आयोजनाको स्रोत खोज्ने जिम्मेवारी पनि मेरै हो । अहिले केही बजेट व्यवस्था गरेका छौँ । अब काम शुरु हुन्छ । अर्को स्थानीयवासीको समस्या सडक, ड्रेनलगायत बस्ती सुन्दरीकरणको लागि चाहिँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को लागि सूचना प्रकाशित गरिएको हो ।

कार्यवाहक प्रमुख भएको बेला धरानले गौरव गर्नलायक के आयोजना ल्याउनुभयो ?
–म डेढ वर्ष कार्यवाहकको रूपमा आउनुभन्दा पहिले केन्द्रले धरान नगरलाई चिनेकै थिएन । अहिले बसपार्कलाई पनि बजेट सङ्घीय सरकारबाट व्यवस्था गरेका छौँ । विकास निर्माणका धेरै आयोजना पनि मेरै पहलमा भएका छन् । धेरै बजेट धरानका लागि ल्याउन सफल भएकी छु ।
कम्युनिष्ट पार्टीहरूले सुकुम्बासीलाई आश्वासन दिएर भोटबैङ्कको रूपमा मात्र प्रयोग गर्दै आएका छन् । धनीपुर्जा उपलब्ध गराउने भन्दै भोट

माग्नुभयो, धनीपुर्जा दिलाउने कुरा कहाँ पुग्यो ?
–सर्वप्रथम त हामी धनीपुर्जा उपलब्ध गराउने निकाय होइनौं । तर, हामीले सम्बन्धित निकायमा बजेटको व्यवस्था गरेर अगाडि बढाएका छौँ । अहिलेसम्म घर नम्बरिङ गरेकाहरूलाई धनीपुर्जा उपलब्ध गराउने कार्य गर्छौँ ।

ब्लाष्ट टाइम्स दैनिकको २६ औं वार्षिक उत्सवको अवसरमा केही भन्न चाहनुहुन्छ ?
–सर्वप्रथम त प्रदेश नं. १ को लोकप्रिय पत्रिका प्रदेशमा मात्र नभई राष्ट्रियस्तरमा नै स्थापित हुन सफल भएको छ । विभिन्न आरोह अवरोह पार गर्दै २६ औँ वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दछु । कोरोना भाइरसको कारणले धेरै सञ्चारगृह प्रभावित भएका छन् । यसलाई मध्यनजर गर्दै मिडियामैत्री नीति अख्तियार गरेका छौँ ।

यस्तो भयावह अवस्था, घामपानी नभनी पनि अहोरात्र खटेर पत्रिकालाई यहाँसम्म ल्याउने सम्पादक, संवाददाताहरूलाई हार्दिक आभार व्यक्त गर्दछु । जनताका आवाजहरू बुलन्द गर्न सफल होस् । नगरसँग साझेदारी रहेर काम गर्ने वातारण बनोस् मेरो शुभकामना छ ।

प्रस्तुती ः खिलानाथ विश्वकर्मा