भण्टाबारी । कोशी गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्षको निधन भएपछि खाली रहेको उक्त पदमा महिला सदस्यले कार्यवाहक वडाध्यक्षको जिम्मेवार पाएको छ । कोशी गाउँपालीका २ का निर्वाचित वडाध्यक्ष हिरालाल यादवको भदौ ६ गते हृदयाघातका कारण निधन भएको थियो । यादवको निधन भएपछि खाली रहेको वडाध्यक्ष पदको जिम्मेवारी वडा सदस्य द्रोपती शाहले पाएकी छिन् ।
कार्यबाहक वडाध्यक्षका लागि अन्य वडा सदस्यले समेत दावी गरेपनि आफूहरूले महिलालाई प्राथमिकतामा राख्दै गाउँ कार्यपालिकाबाट सर्वसम्मतिले ५० वर्षीया द्रोपती शाहलाई जिम्मेवारी दिने निर्णय गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
गरिबी र अशिक्षाका कारण खासगरी तराई क्षेत्रका महिलाको राजनीति क्षेत्रमा उपस्थिति कम रहेको अवस्थामा आफूहरूले सकारात्मक म्यासेज दिने उद्देश्यले महिला वडा सदस्यलाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएको उनको भनाइ छ । २०७३ सालमा भएको स्थानीय तहको निर्वाचनमा द्रोपती शाह नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएकी हुन् ।
हर्टअट्याक भएपछि उपचारको क्रममा वडाध्यक्ष यादवकोह झापाको एक अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या आएपछि वडाध्यक्ष यादवलाई समयमै अस्पताल पुर्याईएपनि अस्पतालमा भेनटिलेटर अभावका कारण बचाउन नसकिएको बताइएको थियो ।
एकजना असल लिडर गुमाउनुपरेको बताउदै द्रोपती शाहले आफूलाई विश्वास गरेर कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिएकी छिन् । जिम्मेवारी बहन गर्दै शाहले आफू महिला तथा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर समग्र वार्ड विकासमा केन्द्रित हुने बताइन् ।
आफू पनि एउटा महिला भएको हिसाबले सकभर राजनीति क्षेत्रमा महिलाको उत्थान गर्ने कार्यक्रम ल्याउने योजना रहेको उनले सुनाइन् ।