भण्टाबारी । सुनसरीमा राप्रपा नेपालसहित विभिन्न पार्टी परित्याग गरी ५ सयबढी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । भोक्राहा नरसिंह गाउँपालीकाका राप्रपा नेपालका सभापति अजिम मन्सुरीसहित विभिन्न पार्टी परित्याग गरी ५१३ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

विभिन्न पार्टी परित्याग गर्दै आएका नवप्रवेशीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइराला, सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद सिताराम मेहता, सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी, नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी डाक्टर इसराइल मन्सुरी, प्रदेश सांसद ताहिर मियालगायतले उनीहरूलाई टीका लगाउदै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

युवराज दाहालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका वक्ताहरुले प्रदेश र संघीय सरकार भ्रष्टाचार लिप्त भएको दाबी गर्दै देशमा भ्रष्टाचार रोकथाम गर्न तथा समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गरे ।