धरान । सरकारले असोज ५ गतेदेखि सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज ५ गतेबाट सार्वजनिक यातायात साथै हवाई सेवा सुचारू गर्ने निर्णय गरेको हो । सरकारले असोजदेखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने वातावरण तयार नगरे असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने भन्दै सरकारलाई चुनौती दिएका थिए ।

सरकारले कोरोना महामारीको त्रासका कारण चैत ११ गतेदेखि गरेको लकडाउन यता यातायात बन्द छ । करिब ६ महिनादेखि बन्द रहेको यातायात सहज रूपमा खुलाइदिन आग्रह गर्दै प्रदेश १ सरकारलाई प्रदेश १ का यातायात व्यवसायीले सोमबार मात्रै ज्ञापन दिएका थिए ।

तर, साँझ मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेका हुन् । प्रदेश १ का यातायात व्यवसायीले भने असोज १ गतेबाट यातायात सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रहसहितको सुझाव पत्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बुझाएका थिए ।

सरकारले चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट व्यक्तव्यमा घोषणा भए बमोजिम सवारी कर, जाँचपास, रुट आदिमा पाउने छुट तत्काल निर्देशन गर्न सुझाव दिइएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका प्रदेश १ संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।