पथरीशनिश्चरे / राष्ट्रिय युवा संघ नेपालले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका प्राथमिकिकरण गरिएका प्रमुख मुद्धाहरु हल गर्नका लागि पार्टी तथा सरकारी निकायमा ध्यानाकर्षण गराएको छ । उसले प्रमुख मुद्धा हल गर्न दवाव समेत दिने भएको छ ।
युवा संघको जिल्ला समितिको पहलमा शुक्रबार साँझ पथरीशनिश्चरेमा आयोजित अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सदस्य रविन थापा, जिल्ला अध्यक्ष नविन पौडेल सहितले गत निर्वाचनताका प्राथमिकीकरण गरिएका मुद्धाहरुको विषय उठाएर छलफलमा धारणा मागेका थिए ।
ती मुद्धाहरु हल गर्न सवै पक्ष सक्रिय भएर लाग्नुपर्ने भन्दै सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन दवावमुलक योजना बनाउनु पर्नेमा संघको धारणाका रुपमा उनीहरुले जोड दिए ।
निर्वाचनताका उठाइएका क्षेत्रका प्रमुख मुद्धामा, सुकुम्वासी सहितको अव्यवस्थित बसोबासको समस्या, पथरीशनिश्चरे शिविरमा बहुसाँस्कृतिक संग्रहालय निर्माण, खोला तटवन्ध, पूर्वाञ्चल विश्वविद्याललाई सुन्दरहरैंचाको गोठगाउँमा स्थापित गर्ने र बेलबारीस्थित बाहुनीको पेट्रोलखानी अन्वेषण गर्नुपर्ने रहेका छन् ।
संघले नेकपाका प्रदेशतहसम्मका नेताहरु र पथरीशनिश्चरे नगरका प्रमुख र उपप्रमुखकामाझ ती विषयहरु स्मरण गराउँदै अवको डेढ वर्षको कार्यअवधिमा नेकपाको सरकारले पुरा गर्ने पहलमा लाग्न पार्टीले समेत सरकारको ध्यानाकर्षण गराउन पर्नेमा जोड दियो ।
अन्तरक्रियामा, नेकपाका प्रदेश सदस्य युवराज वास्कोटाले पथरीशनिश्चरेमा संग्रहालय वन्ने ठाउँमा शिविर क्षेत्रका टहराहरुलाई व्यवस्थित रुपले एकातर्फ मात्र बनाउने व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
साथै उनले बसोबासको समस्या सहितका प्रमुख समस्याहरु समाधानमा सवै तहका सरकारसँगको समन्वयमा योजना बनाएर अघि बढ्न ढिलो भइसकेको धारणा राखेका थिए ।
कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राईले संग्रहालय निर्माणको प्रादेशिक गौरबको योजना बनेको बेला त्यसलाई विफल बनाउन लाग्नेहरु रहेको समेत बताए । उनले शिविर सहित पूर्वपश्चिम मुख्य सडकको उत्तरतर्फको जंगलको करीव ८ सय विगाहा जग्गा आफुलाई बाबुले अंश दिएको व्यहोरा उल्लेख गर्दै कुलनाथ निङलेखुले जिल्ला अदालतमा हालेको जनाए ।
निङलेखुले मुद्धा हारेको भएपनि उनले पुनरावेदन गरेको अवस्था रहेकोले संग्रहालयको प्रक्रिया विचाराधिन जस्तो बनेको बताए । ‘तर ठाडो जंगल रहेको क्षेत्रमा त्यसप्रकारको दावी गरेर भूमाफियामार्फतको चलखेललाई अन्त्य गर्न सवै लाग्नुपर्छ र सरकारले पनि यो कुरा बुझ्नु पर्छ ।’ उनको धारणा छ । उनको संयोजकत्वमा प्रदेश सरकारले बनाएको संग्रहालयको पूर्व सम्भाव्यता अध्ययन समितिले प्रतिवेदन बुझाएको डेढ वर्ष भइसकेको छ ।
नेकपाका भगतचन्द्र थपलिया, दिननाथ तिम्सिना, मोहन तुम्वापो सहितले दोहोरो स्वामित्व सहितको बसोबासको समस्या समाधान गर्न पहिलो प्राथमिकता बनाएर जिल्ला तहमा विशेष आयोग बन्नुपर्नेमा जोड दिएका थिए ।
पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले बसोबासको समस्या समाधानमा जिल्ला तहमा आयोग बनिहाल्नुपर्ने, संग्रहालय निर्माणमा मन्त्रालयको अवधारणा र कन्सल्टेन्सीको डिजाइनमा एकरुपता हुनुपर्ने धारणा राख्दै नगरपालिकाले ती मुद्धामा समन्वय गरिरहेको र सवै पक्षको समन्वय आवश्यक रहेको बताए ।
अवको अर्काे चरणको छलफलबाट प्राथमिकताका मुद्धाहरु समाधान गर्न सरकारी निकायको ध्यानाकर्षणमा दवावमुलक कार्यक्रम तय गरिने छलफले निष्कर्ष निकालेको छ ।