धरान । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल दुई वर्ष थप्ने तयारीमा सरकार लागेको छ ।

तर, आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकमा घिसिङको कार्यकाल थप्ने विषयमा प्रस्ताव लिएर जान लागिएको हो । ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव आजको मन्त्रिपरिषद्को बैठकमा पेश गर्न लागेको उनी निकट नेताले जानकारी दिए ।

उनको कार्यकाल भदौ २९ गते सकिँदै छ । खुल्ला प्रतिस्पर्धाबाट चार वर्षका लागि प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान नियुक्त भएका थिए । कुलमान नियुक्त भएसँगै लोडसेडिङ र प्राधिकरणलाई नाफामा लिएर गएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई पुनः निरन्तरता दिन चाहेको बताइन्छ ।

तर, यो विषयमा अहिलेसम्म नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोलिनसकेको उनी निकट नेताहरूले जनाएका छन् । स्रोतका अनुसार कुलमानलाई दुई वर्षको म्याद थप गर्ने तयारी भएको छ । कुलमानको म्याद थप गर्नका लागि प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुराकानी गरिसकेको बताइन्छ ।

कुलमानलाई प्रचण्डको पालामा विद्युत् प्राधिकरणको जिम्मा दिइएको थियो । हालसम्म प्राधिकरणको कार्यकारी प्रमुखको लागि सूचना जारी गरिएको छैन । यसले पनि पुनः कुलमानलाई नै निरन्तरता दिने सम्भावना बढेर गएको छ । तर, आजको मन्त्रिपरिषद्को बैठकले नै उक्त कुराको निक्र्यौल गर्ने भएको हो । कुलमानले आफ्नो पदावधिमा लोडसेडिङ र मुनाफामा लगे पनि कुनै ठूला आयोजना भने सुरु गर्न सकेका थिएनन् ।