झापा/ झापा गाउँपालिका–३ कामाटोलीमा गत बुधवार प्रहरीको गोली लागेर मृत्यु भएका रफिकुल आलम घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही हुनु पर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।

मञ्चले पिडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था, मृतकलाई शहिद घोषणा, घटनाको निष्पक्ष छानबिनलगायतका माग अघि सारेको छ । मञ्चले विज्ञप्ती जारी गरी यथासिघ्र संघीय छानबिन समिति गठन गरी सत्य तथ्य सार्बजानिक गर्न सम्बन्धित निकायलाई अपिलसमेत गरेको छ ।

विज्ञप्तीमा मुलुक संविधान संघीय लोकतान्त्रि गणतन्त्र धर्म निरपेक्षतामा प्रवेश गरेको जनाउँदै झापामा मुस्लिम समुदायमाथि घटेको घटनाप्रति मञ्चले आपत्ति जनाएको हो । मुस्लिम समुदायमा घटेको घटनाले कानूनी राज्यको धज्जी उडाउँदै दण्डहिनतालाई अंगिकार गरेको मञ्चको बुझाई रहेको मञ्चका झापा अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए ।

अध्यक्ष पन्धाकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘धर्म निरपेक्षता भन्नु नै सबै धर्मको उच्च सम्मान गर्दै सबै जात जातिलाई धार्मिक रुपमा समान सहभागिता दिलाउनु हो ।’ कुनै धर्म, मूल्य र मान्यतालाई राज्यले काखा र पाखा गर्नु धर्म निरपेक्षताको मूल मर्मको बिरुद्धमा जानु हो ।’ विज्ञप्तीमा भनिएको छ ‘यदि यो घटनाप्रति सम्बन्धित पक्षले वेवास्था गरी दण्डहिनतालाई बढुवा दिएमा पार्टी आन्दोलित हुन बाध्य हुने छ ।’ पार्टी आन्दोलीत भई कुनै किसिमको क्षति भए त्यसको सम्पुर्ण जिम्मा सम्बन्धित पक्ष हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीको गोली प्रहारबाट आलमको मृत्यु भएपछि कामाटोली तथा झापा गाउँपालिका क्षेत्र २ दिनसम्म तनावग्रस्त भएको थियो । कामाटोली ३ मा बहर गोरु काटेको आरोपमा दुई मुस्लिम नागरिकलाई प्रहरीले पक्राउ गरेपछि सो क्षेत्रमा तनाव सिर्जना भएको थियो ।