भद्रपुर । झापाको कचनकवल गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । थानीय स्वायत्त साशन विपरित वडा कार्यालयको अधिकार कटौती गर्ने गरी बजेट सिलिङ घटाएको, सङ्कटको समयमा करको भार बढाएर नागरिकमाथी ज्यादती गरेको लगायत माग राखेर ४ जना वडाअध्यक्ष सहित १४ परिषद सदस्यले गाउँपालिकामा बिहीबार तालाबन्दी गरेका हुन् ।

उनिहरुले अध्यक्ष,उपाध्यक्षको कार्यकक्ष र प्रशासकीय भवनमा तालाबन्दी गरेका थिए । राप्रपाको बहुमत रहेको कचनकवल गाउँपालिका नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको तथा स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा तालाबन्दी गरिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष अञ्जरा आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको बजेट सिलिङ १० लाखमा झारेको, करको दर बृद्धि नगर्ने राजश्व परामर्श समितिको निर्णय विपरित तीन गुणासम्म कर बढाएको बिरोधमा निर्णय सच्याउन माग राखेर दुई हप्ता अगाडि ५ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका भए पनि सुनुवाइ नभएपछि तालाबन्दीमा उत्रेका हुन् ।

विगत आर्थिक वर्षकै हाराहारीमा बजेट विनियोजन हुनु पर्ने तथा करको दर पनि सोही रहनु पर्ने माग राखेर साउन २९ मा ज्ञापन पत्र बुझाएका थिए । यस बीचमा गाउँपालिका नेतृत्वले वडाध्यक्ष तथा परिषद सदस्यहरूको माग बारे कुनै सुनुवाइ नगरेपछि तालाबन्दीमा उत्रिएको परिषद सदस्य उमाशङ्कर गणेशले जानकारी दिए ।