धरान । पहिलो संविधानसभा सभाषद् छियामा राईको पहिलो स्मृतिमा राष्ट्रिय जनमुक्ति पार्टीले स्मरण गरेको छ ।

पार्टीले धरान–८ स्थित पार्टी कार्यालयमा निर्मित छियामाको अर्धकदको प्रतिमामा माल्यापर्ण गर्दै बुधबार स्मरण गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले प्रतिमामा फूलमालाले माल्यापर्ण गरे । छियामा २०६४ सालको पहिलो संविधानसभाको समानुपातिक सभाषद् हुन् । उनी २०७६ भदौं १० गते काठमाडौं अस्पतालमा उपचारको क्रममा निधन भएकी थिइन् ।

उनी पार्टीकी संघीय महासभा सदस्य रहेकी थिइन् । पार्टी स्थापना कालदेखि नै उनी सक्रिय रूपमा संगठन विस्तारमा होमिएकी थिइन् । पार्टी २०४८ माघ ६ गते स्थापना भएको थियो । त्यसयता धरानबाट आवद्ध भएर सक्रिय भुमिका खेलेको पार्टी अध्यक्ष पालुङ्वाले बताए । पार्टीलाई धरान–८ सिद्धार्थमार्गमा करिब १ करोड मूल्य बराबरको जग्गा उपलब्ध गराएकी थिइन् ।