• दिनेश सुब्बा


पथरी /  कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गए पछि त्यसको रोकथाम र नियन्त्रण गर्नको लागि मोरङको कानेपोखरी गाउँपालिकाले विहीबार राती १२ बजेदेखि साउन २९ गते राती १२ बजे सम्म लकडाउन गरेको छ ।
बुधबार गाउँपालिकामा बसेको सर्वदलिय बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाको वडा नं. १, २, ३, ५ र ७ को सिमा पनि सिल गर्ने निर्णय गरिएको छ । यस लकडाउनमा संघसंस्थामा सेनिटाइजर, मास्क, साबुन पानी अनिवार्य राख्नु पर्ने बताइएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड मास्क, सामाजिक दुरी भिडभाड गरी नियम उल्ङघन गर्नेलाई रु १ सय जरिवाना लिने निर्णय पनि गरेको गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए ।

लकडाउन प्रभावकारी बनाउन कानेपोखरी प्रहरी चौकी, रमाइलो प्रहरी चौकी, सशस्त्र प्रहरी बल र म्यादी नगर प्रहरीले जिम्मेवारी पाएका छन् । पालिकाले साप्ताहिक हाटबजार, विद्यालयबाट संचालित टयुसन, कोचिङ, बाहिरबाट आउने सागसब्जी, फलफुल, सार्वजानिक यातायात बन्द रहने छ । त्यसैगरी वडापालिका र गाउँपालिकाका अति आवश्यक सेवा वाहेकका कार्यहरु पनि बन्द रहने गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए ।
दैनिक ११ बजे देखि ३ बजेसम्म पाइने सामान
स्थानीय स्तरमा उत्पादित साग सब्जी, खाद्य मल, भेटनगरी र औषधी पसलहरु, दुधजन्य पदार्थ, खाद्य सामाग्री र फलफुल पसलहरु, बैंक वितिय संस्था, सहकारी संस्थाहरु, सडक मर्मत विपत व्यवस्थापन कार्य, निर्माण समाग्री पसल र धुवानी गाडीहरु भने संचालन हुने छ ।