धरान । काठमाडौंको खोकनामा स्थानीय र प्रहरीबीच झडप हुँदा ४ जना प्रहरी घाइते बनेका छन् ।

खोकनाको सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप हुँदा प्रहरी घाइते बनेका हुन् । प्रहरीले घटनाको अवस्थालाई नियन्त्रण लिनका लागि ७ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडप पछि स्थानीयले रोपाइँलाई निरन्तरता दिएका छन् । अहिले उक्त क्षेत्रमा व्यापक रूपमा प्रहरी तैनाथ रहेका छन् ।

सुडोल फाँट काठमाडौं तराई जोड्ने द्रुतमार्गमा पर्छ । उक्त क्षेत्रमा पर्ने जग्गा सरकारले अधिग्रहण गरेर सडक निर्माण गरिरहेको छ तर स्थानीयबासीले मुआब्जा नलिएकाले खेतमा रोपाइँ गर्नका लागि पुगेका थिए । स्थानीयले सरकारले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगले मुआब्जा दिन खोजेपछि स्थानीयबासीले त्यसको विरोध गर्दै आइरहेका छन् । असार १५ गतेका दिन पनि स्थानीयबासी र प्रहरीबीच सामान्य विवाद सिर्जना भएको थियो ।