विराटनगर /  मोरङको जहदा गाउँपालिका – ५ सन्थाल बस्तीका ४० वर्षीय बिरजु टुढुको हत्या आरोपमा १५ वर्षीय छोरा पक्राउ परेका छन् । बाबुको हत्या आरोपमा सकल टुढु मंगलबार पक्राउ परेका हुन् ।

शनिबार राती बिरजुले श्रीमति शान्तिलाई कुटपिट गरेपछि सुतेको अवस्थामा छोरा सकलले बन्चरो प्रहार गरि आइतबार विहान गम्भिर घाइते बनाएको थिए । उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ्ग होममा लगेको र उपचार गर्ने पैसाँ नभएपछि घरमा ल्याएका बिरजुको आइतबार साझ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बावुलाई गम्भिर घाइते बनाएपछि फरार भएका सकललाई प्रहरीले जोगवनीबाट पक्राउ गरेको हो ।
टुढुको घरमा शनिबार जेठी छोरी र ज्वाइ पाहुना आएका थिए । खानपिन गरेपछि जेठी छोरी र ज्वाइ अर्को घरमा सुत्न गएका थिए भने बिरजु आफनै घरको खाटमा सुतेका थिए । श्रीमति र छोराछोरीहरू भुइमा सुतेका थिए ।

‘बिरजु सुत्ने खाटमा उनको दिदीको नातीले पिसाव गरिदिएको कारण श्रीमति शान्तिले ओछ्यानमा भएको कपडाहरू धोएर सुकाई दिएका थिए । तर बिरजुलीले शान्तिलाई ओछ्यानमा पिसाव गर्न दिइस् भन्दै गाली गलौज गर्दै कुटपिट गरेका थिए,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘बाबुले आमालाई कुटेको छोराले देखेको रहेछन् । आमालाई कुटेको रिस फेर्न आइतबार बिहान ५ बजेको समयमा बावुलाई बन्चरो प्रहार गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ मृतक टुढुले श्रीमति शान्तिलाई यस अघि पनि बारम्बार कुटपिट गर्दै आएको आएका थिए । ट्याक्टर चालक रहेका टुढुले श्रीमितलाई कुटेको छोराले देख्ने गरेका थिए । आमालाई बावुले कुटपिट गरि मार्ने र अर्को कान्छि आमा ल्याउने भएकोले बावुको हत्या गर्ने मनसायले धारिलो हतियार प्रहार गरेको प्रहरीलाई दिएको बयानको क्रममा बताएका छन् । मृतकका श्रीमति दिशा गर्न बाहिर गएको अवस्थामा छोराले बावुलाई बन्चरा प्रहार गरि गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरि बिरजुको निधरमा गहिरो चोट लागेको थियो । बावुको हत्यामा प्रयोग गरिएको बन्चरो नजिकको पोखरीमा फालेका थिए । प्रहरीले मंगलबार दिनभरी खोजविन गरि बन्चरा पनि फेला पारेको छ ।

बावुको हत्या आरोपमा पक्राउ गरेको टुढुलाई प्रहरीले मोरङ जिल्ला अदालतबाट मंगलबार कर्तब्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।