धनकुटा / धनकुटा जिल्लाको चौबिसे गाउँपालिकाकी १७ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय दुई युवा बिहीबार पक्राउ परेका छन् ।
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेकाहरू चौबिसे गाउँपालिका वडा नं.८ सोक्रोक्पा वसन्तटारका २२ वर्षीय भीम लिम्बू र १७ वर्षीय रिबल लिम्बू रहेका छन् । पक्राउ परेकामध्ये वर्ष २२ का भीम लिम्बूसँग ०७६ माघ ७ गते चौबिसे गाउँपालिकाकै वडा नं. ८ स्थित देउरालीमा छिमेकीको विवाहमा पहिलो पटक चिनजान भएको पीडित युवतीले बताइन् ।
गाउँलेको विवाहमा पहिलो पटक चिनजान भएकै दिन ०७६ माघ ७ गते राति विवाह घरभन्दा केही माथि फकाउँदै जङ्गलमा लगेर भीम लिम्बूले जबर्जस्ती करणी गरेको पीडित युवतीले बताइन् । भीम विवाहित युवा हुन् । उनको एक बच्चा र श्रीमती घरमा रहेको बताइएको छ । पहिलो चिनजानमै किशोरीलाई जबर्जस्ती करणी गरेर यौनशोषण गर्न पल्किएका भीमले पुनः माघ महिनाको अन्त्यतिर पनि देउरालीमै बोलाएर दिउँसै शारीरिक सम्पर्क गरेको पीडित बालिकाको भनाइ छ । सो दिन भने भीमले एक जना छिमेकी रिबल लिम्बूलाई पनि सँगै लिएर आई पालैपालो किशोरी माथि यौनसम्पर्क गरेका थिए । ती किशोरी चौबिसे गाउँपालिकाको वडा नं. ६ हाम्फाबुङस्थित सिद्धिपुर घरबाट आफ्नै आमासँग देउरालीमा विवाहमा जाँदा पहिलो पटक जबर्जस्ती करणीमा परेकी थिइन् ।
आफूलाई भीमले पहिलो चिनजानमै एक्कासि यौनसम्पर्कको लागि प्रस्ताव राखेको तर आफूले नमानेको बताइन् । आफूले नमानेपछि राति करिब ९ बजेतिर विवाह घरदेखि केही माथिको जङ्गलमा पु¥याएर भीमले जबर्जस्ती करणी गरेको बताएकी छन् । माघपछि भीम वा रिबल लिम्बूसँग भेटघाट नभएको तर आफ्नो पेटमा बच्चा रहेको शङ्का लागेपछि किशारी यही ०७७ असार १ गते भीमको घर सोक्रोक्पा वसन्तटार गएकी थिइन् । उनी त्यहाँ गएर भीमसँगको सम्बन्धको कारण आफू गर्भवती भएको परिवारलाई बताएकी थिइन् । सोही क्रममा भीमकी श्रीमती र परिवारले ती किशोरीलाई उल्टै कुटपिट गरेर खेदाएपछि जबर्जस्ती करणीको घटना बाहिर आएको हो ।
किशोरीले जबर्जस्ती करणीको कारण गर्भ रहेको आफूले थाहा पाएपछि मात्र उनी न्यायको खोजीमा आफन्तसहित धनकुटा आइपुगिन् । पीडित किशोरी आफ्नी आमा र दिदीसँग धनकुटा आएर जिल्ला प्रहरी कार्यालय धनकुटामा भीम र रिबल विरुद्ध जबर्जस्ती करणी गरेको आरोपमा ०७७ असार १२ गते किटानी जाहेरी दिएकी थिइन् । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएपछि प्रहरीले जिल्ला अस्पताल धनकुटामा किशोरीको गर्भजाँच गराउँदा अहिले ती किशोरीको पेटमा ५ देखि ६ महिनाको गर्भ रहेको खुलेको छ । पीडित किशोरीलाई बिहीबारदेखि आइतबारसम्म जिल्ला अस्पताल धनकुटाको ओसिएमसीमा राखिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाएको छ ।
जिल्ला अस्पतालका डा.भरोषा भट्टराईले किशोरीको पेटमा ६ महिनाको गर्भ रहेकोले उनलाई गाइनोलोजिष्टले नै हेर्नुपर्ने हुँदा विराटनगरस्थित कोशी अस्पतालमा रेफर गरिएको बताइन् । उनले पीडित किशोरीलाई २ दिन मात्र ओसिएमसीमा राखेको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले जबर्जस्ती करणीमा संलग्न २ युवा विरुद्ध जिल्ला अदालत धनकुटामा मुद्दा दर्ता भइसकेको बताए ।