• धनबहादुर पुरी

इटहरी

गत जेठ १८ गरे इटहरी–२० तरहरामा आफ्नै छिमेकी दाइको हत्या गर्ने तरहराका ४ जनालाई पुर्पक्षको थुनामा राख्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । सामान्य विवादमा चक्कु र चिर्पट प्रयोग गरी छिमेकी दाइको हत्या गर्नेहरूलाई कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत सुनसरीका ७ नम्बर न्यायाधीश ध्रुवकुमार उप्रेतीको एकल इजलासले पुर्पक्षका लागि ४ जनालाई थुनामा र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । इटहरी–२० का २८ वर्षीय रादन राईको हत्यामा संलग्न अभिषेक पौडेल, अभिषेक केसी, प्रज्वल तामाङ र मतियार मनोज चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । त्यस्तै सोही घटनामा मुछिएका तरहराका राजन बानियाँलाई भने धरौटीमा छोड्न आदेश दिएको हो ।

जिस्किँदा जिस्किँदै उनीहरूबीच सामान्य विवाद भएको थियो । सामान्य ‘इस्यु’ लाई ठूलो बनाएको र छुरा प्रहार भएको प्रहरीको भनाइ छ । प्रज्वललाई समयमै घर जाऊ भनेर उपदेश दिँदा रादनको हत्या भएको थियो । उनीहरू गाँजा खाएर बसेको र साथीहरू मिलेर रादनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० वर्षीय प्रज्वल तामाङले पछाडिबाट इँटाले प्रहार गरेका थिए । पछि रादन भुइँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले हत्यामा ३ जनाको प्रत्यक्ष संलग्नता रहे पनि चौधरीले भने उनीहरूलाई भगाउन सहयोग गरेको बताए ।

यसरी भएको थियो हत्या
लकडाउनले बेलायत जानबाट अड्किएका इटहरी–२० एकता टोलका २८ वर्षीय रादन राई अन्य साँझजस्तै साथीहरूसँग डुल्न निस्किएका थिए । नजिकै होटलमा रादनले ‘प्रज्वल भाइ घर जाऊ’ भनेर आग्रह गरे । तर प्रज्वल बाहिर आई एक्कासि रादनसँग ‘किन घर जानु’ भनेको भनेर विवाद गरे ।

प्रज्वल अनि उनका साथीहरू प्रायः सोही पसलमा र नजिकै रहेको बाँसको फलैँचामा भेला भई रातको समयमा गाँजा तान्ने त कहिले हुक्का तान्ने गर्दथे । विवादपछि प्रज्वल घरतर्फ हान्निए । १० मिनेटपछि प्रज्वल अभिषेक केसी र अभिषेक पौडेल लिएर रादन बसेको ठाउँमा पुगे । प्रज्वलले ‘रादन दाइ बाहिर आउनू’ भनेर बोलाए र उनीमाथि आक्रमण गर्न थालेको प्रहरी अनुन्धानबाट खुलेको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले हत्या गरी फरार रहेकाहरूलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरूलाई मोरङबाट पक्राउ गरिएको थियो ।

प्रहरी सक्रियता बढ्यो
रादन हत्यापछि इटहरी तथा आसपासका क्षेत्रमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । इटहरी क्षेत्रमा गुण्डागर्दी बढ्न सक्ने भन्दै सतर्कता अपनाएको हो । लामो समयदेखि गुण्डागर्दी साम्य हुँदै आएको क्षेत्रमा हत्याको घटना भएसँगै प्रहरीले सक्रियता बढाएको जनाएको छ ।
तरहरा, भवानीपुरसँगै तामाङ टोललगायतका क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको जनाएको छ । साथै गाँजा खाने ठाउँहरूमा समेत निगरानी बढाएको प्रहरी बताउँछ । इटहरीमा पछिल्ला केही वर्षयता गुण्डागर्दी घट्दै गएको प्रहरी तथ्याङ्कले देखाउँछ ।

हत्यारा पक्राउ नपरेका ठूला घटना
–२०७२ साल फागुन २० गते इटहरी–२ की १३ वर्षीया बालिका सपना भुजेलको हत्या गरेर खोलामा फालेको अवस्थामा शव फेला प¥यो तर हत्या कसले र किन ग¥यो भन्ने विषयमा अहिलेसम्म पत्ता लागेको छैन ।
–२०७० मङ्सिर ४ गते खनारबाट सुवास काफ्ले हराए । पछि मङ्सिर ६ गते इटहरी–धरानबीचमा पर्ने चारकोसे जङ्गलक्षेत्रमा जलेको अवस्थामा सुवासको शव भेटियो । सुवासकी श्रीमती ममता काफ्लेले श्रीमान्को हत्या आफ्नै जेठाजु रमेश काफ्लेसहितको टोलीले गरेको बताइन् । जेठाजु रमेशसहितका केही पुर्पक्षका लागि जेल चलान भए पनि रमेश अन्ततः निर्दाेष साबित भएर छुटे । तर प्रहरीले सुवासको हत्या कसले ग¥यो भन्ने अझै पत्ता लगाउन सकेको छैन ।

–२०६४ साल चैत ५ गते मङ्गलबार इटहरीको दन्तकाली हार्डवेयर सञ्चालक दम्पती कैलाशचन्द्र अग्रवाल र उनकी पत्नी शान्तादेवी अग्रवालको हत्या भयो । हात बाँधिएको, मुखमा पट्टी लगाएको अवस्थामा शव भेटिएको थियो । दुवैलाई डोरीले बाँधेर बेल्चा प्रहार गरेको निष्कर्षमा प्रहरी पुग्यो तर त्यो हत्या कसले ग¥यो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।