• अनिल श्रेष्ठ

विराटनगर / मोरङको जहदा गाउँपालिका–५ सन्थाल बस्तीका ४० वर्षीय बिरजु टुडुको रहस्यमय मृत्यु भएको छ । निधारमा गहिरो चोट लागेको टुडुको आइतबार मृत्यु भएको हो ।
ट्याक्टर चालक रहेका टुडु शनिबार राति खानपिन गरेपछि सुतेका थिए । आइतबार बिहान निधारमा गहिरो चोट लागेको टुडु अर्धचेत अवस्थामा फेला परेको श्रीमती शान्ती हेम्मरुनले बताइन् । विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गर्न लैजाने क्रममा टुडुको मृत्यु भएको परिवारको भनाइ छ ।
टुडुको घरमा शनिबार जेठी छोरी र ज्वाइँसहित पाहुना आएका थिए । खानपिन गरेपछि जेठी छोरी र ज्वाइँ अर्को घरमा सुत्न गएका थिए भने बिरजु आफ्नै घरको खाटमा सुतेका थिए । श्रीमती र छोराछोरीहरू भुइँमा सुतेका थिए ।

टुडुको मृत्यु शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान शुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । मृतक टुडु सुतेको खाटमा रगत पनि लत्पतिएको देखिन्छ । ‘अघिल्लो दिन राम्रोसँग सुतेका मृतकको टाउकोमा भोलिपल्ट गहिरो चोट देखिएको छ । घटना हेर्दा शङ्कास्पद देखिन्छ’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने, ‘प्रहरी टोली पठाएर घटनाको अनुन्धान शुरू गरिएको छ ।’ सोमबार दिउँसो घटनास्थलमा मोरङका डिएसपी लोकदर्शन थापा, इन्स्पेक्टर मिलन थापासहित सादा पोसाकका प्रहरी टोली पुगेर अनुसन्धान शुरू गरेको छ ।

टिनको जस्तापाता लगाएको झुप्रो घरको खाटमा सुतेका टुडु अर्धचेत अवस्थामा फेला परेपछि १८ वर्षीय छोरा सकल टुडु फरार छन् । बाबुको मृत्यु भएपछि अघिल्लो दिन भएको छोरा भोलिपल्ट सम्पर्कविहीन हुनुले टुडुको मृत्यु शङ्कास्पद देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । फरार भएका टुडुको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ ।

टुडुको निधारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुनसक्ने बताउँदै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । टुडुको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याएको एसपी खड्काले बताए । पोष्टमार्टम रिपोर्टपछि थप खुल्ने उनले बताए ।
मृतककी श्रीमती शान्तीले श्रीमान् खाटबाट लडेर उपचार गर्न लैजाने क्रममा मृत्यु भएको दाबी गर्दै आएकी छन् । थप अनुसन्धान र सोधपुछका लागि प्रहरीले शान्तीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।

मृतक टुडुको श्रीमती शान्तीसहित दुई छोरी र एक जना छोरा छन् । जेठी छोरी मनिषको विवाह भएको छ भने कान्छी छोरी सपना र छोरा सकुल अविवाहित हुन् ।
घटनाको छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउन जहदा गाउँपालिका–५ सन्थाल बस्तीका स्थानीय र जनप्रतिनिधिहरूले माग गरेका छन् । जहदा गाउँपालिका–५ का वडाध्यक्ष जगदीश सिंहले टुडुको मृत्यु शङ्कास्पद देखिएकोले प्रशासनले छानबिन गरी दोषीलाई कडा कारबाही र यस घटनाको सत्य–तथ्य बाहिर ल्याउनुपर्ने माग गरे ।