विराटनगर ।  विराटनगर– ८ अशोक चोकस्थित मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई ‘बालयौन दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका मदरसाका मोलबी (प्रधानध्यापक) लाई अदालतमा म्यात थप गरेको छ । पक्राउ परेका मोलवी अमिरुद्धिनलाई जिल्ला अदालत मोरङमा प्रहरीले आइतबार बालयौन दुर्व्यवहार मुद्दामा सात दिनको म्याद थप गरेको हो ।

मोलवी अमिरुद्धिनले गत माघ ७ गते र माघ ८ गते गरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

छात्राहरूले मोलबी विरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि फरार भएका थिए । घटना भएको ६ महिनापछि यौन दुव्र्यवहार आरोप लागेको मोलवी अमिरुदिन मोरङ प्रहरीमा शनिबार आत्मसम्र्पण गरेका हुन् । प्रहरीले अदालतमा अमिरुदिन विरुद्ध बाल यौन दुर्व्यवहार मुद्दामा म्यात थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्धिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित छात्राले प्रहरीमा दिएको जाहेरीमा उल्लेखछ । माघ ८ गते बुधबार, यौन दुर्व्यवहार भएपछि पीडित छात्रा भोलीपल्ट मदरसा जान मानेकी थिइनन । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुर्व्यवहारकाे बिषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

मोलवी अमिरुद्धिले यसअघि गएको माघ ७ गते समेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ बर्षिय छात्रालाई समेत यौन दुर्व्यवहार गरेको आरोप छ । दैनिक ६ बजेदेखी ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्धिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुर्व्यवहार गरेको आरोप छ । २०६४ सालदेखी सो मदर्सामा अध्यापन गराउदै आएका मोलवी अमिरुद्धिनले छात्राहरुलाई यसअघिपनि पटकपटक यौन दुर्व्यवहार गर्दै आएको स्थानियको भनाई छ ।

यस्तो छ कानूनी व्यवस्था
कसैले बालयौन दुरूपयोग गर्न वा गराउन हुँदैन । कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग् अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिनेछ ।

यो प्रकरणमा मोलवी अमिरुद्धिनले दुई जना छात्रालाई बालयौन दुर्व्यवहार गरेको ठहर भए मुलुकी अपराध संहिता २०७४ को दफा २२५ को उपदफा (१) बमोजिम कसूर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवना हुने कानुनी व्यवस्था छ ।