भद्रपुर / हल्दीबारी गाउँपालिकामा भएको घटनामा पालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले झापा क्षेत्र नम्बर ३ का सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङदेनलाई लक्षित गरी दिएको अभिव्यत्तिप्रति राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन झापाले आपत्ति जनाएको छ । सङ्गठनका अध्यक्ष राजकुमार राई र सहसचिव अमित थुलुङले शनिबार विज्ञप्ति निकालेर आपत्ती जनाएका हुन् ।
गाउँ सभामा बजेट, नीति तथा कार्यक्रम पारित गर्ने विषयमा गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष गिरी समूहका जनप्रतिनिधिबिच असार १० गते विवाद भई हातपातदेखि तोडफोडसम्म भएको विषयलाई लिएर उपाध्यक्ष गिरीले शुक्रबार बिहान पत्रकार सम्मेलनमा सांसद लिङदेनलाई लक्षित गरी हल्दीबारीका कुनैपनि जनप्रतिनिधिमाथि घटना भएमा साँसद लिङ्देनले जिम्मा लिनु पर्ने कुरा सार्वजनिक गरेका थिए ।
‘सांसद लिङदेन आफ्नो निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी गाउँपालिकाको समस्या शान्तिपूर्ण समाधानको निम्ति राजनैतिक पहल प्रयत्न गरी रहनु भएको र पार्टीको समेत जिम्मेवार नेताको नाताले कार्यकर्ताहरूलाई संयम रहन निर्देशन गरिरहनु भएको अवस्थामा गाउँपालिकाका उपाध्यक्षको भनाइ प्रति खेद व्यक्ति गर्दै आगामी दिनहरूमा यस प्रकारका अभिव्यक्ति नदोहोराउन भनी यसै विज्ञप्ति मार्फत उपाध्यक्ष गिरीलाई सचेत गराउन चाहन्छौँ ।’– सङ्गठनका अध्यक्ष राई र सहसचिव थुलुङको हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सङ्गठनले समस्याको समाधान आपसी वार्ता र संवाद मार्फत समाधानको लागि अनुरोध गर्दै पुनः उपाध्यक्ष गिरीलाई अराजक, तथ्यहीन आरोप—प्रत्यारोप र चरित्रहत्या गर्ने कार्य नदोहोराउन सचेत गराउन चाहन्छौँ भनि विज्ञप्तिमा जनाइएको छ ।
उपाध्यक्ष गिरीको समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा राजेन्द्र गाउँमा बसेर योजना बनाई नियोजित रुपमा विवाद उत्कर्षमा पुर्याउने काम भएकोले यो हर्कत बन्द गर्न बताएका थिए । उनले वडा नम्बर ४ का अध्यक्ष होम चुडाललको घरमा भोज भतेर चलाएर गुण्डा पालेको आरोप थियो ।
अध्यक्ष लिङ्देनले पालिकाको गाडी समेत दूरुपयोग गरेकोसमेत आरोप लगाएका थिए । यी सवै विषयलाई लिएर केही दिन यताबाट हल्दीबारी गाउँपालिकामा विवादले उग्ररुप लिइरहेको छ ।