धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको निहुँमा उत्पन्न विवादका क्रममा खुकुरी उजाएपछि स्थिति असामान्य बनेकाे छ ।
प्रतिष्ठानको क्वार्टरमा बस्दै आएका एकअर्का परिवार बीच शुक्रबार बिहान पानी भर्ने समयमा विवाद उत्पन्न भएको हो । पत्नी–पत्नीबीचको विवाद बढ्दै गएपछि पतिपतिबीच पनि विवाद सुरू भएकाे प्रत्यक्षदर्शीले जनाए । त्यही क्रममा एक जनाको पतिले खुकुरी निकालेर तर्साउन खोजेपछि विवादले उग्र रूप लिएको थियो । डेण्टलमा स्टाफ नर्सको रूपमा कार्यरतका पतिले खुकुरी निकालेर ओटी टेक्निसियनको रूपमा कार्यरत अर्का व्यक्तिमाथि खुकुरी उजाएपछि नियन्त्रणमा लिएर दुवै परिवारलाइ सुरक्षागार्डले प्रहरीको जिम्मा लगाइएको थियो ।
‘पानीको विषयमा झगडाको सुरुवात भएको थियो । सुरुमा त पत्नीपत्नीबीचमा विवाद भएको रहेछ, विवाद बढेपछि स्टाफ नर्सको पतिले खुकुरी उजाएछ’–प्रतिष्ठानका सुरक्षागार्डले नाम नछाप्ने शर्तमा भने, ‘पछि दुवै परिवारलाई प्रहरीकहाँ जिम्मा लगाइदिएका छौं । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानमा दुवै पक्षलाई छलफल गराउने भन्दै बुझाइदिएको छौं ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले सामान्य विवाद भएर ल्याइएकाले दुवै पक्षलाई राखेर छलफल गराएर छाडिने बताए ।