धरान । ट्रकको ठक्करबाट प्रदेश २ को धनुषास्थित मिथिला नगरपालिकाको पुष्पवलपुरमा मोटरसाइकलमा सवार एक स्टाफ नर्सको बिहीबार साँझ मृत्यु भएको छ ।
मिथिला नगरपालिका–४ स्थित स्वास्थ्यचौकमा कार्यरत रहेकी २२ वर्षीया चन्द्ररेखा यादवलाई को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको हो । उनी सवार बा ५२ प ८६४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका जमुनियाका उनी श्रीमान् सिद्धार्थ यादवको साथमा छोराछोरीसहित जाँदै गरेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करबाट श्रीमान् सिद्धार्थसहित ४ वर्षीया छोरी माही र पहिचान नखुलेको २ वर्षीय छोरोसमेत घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ट्रकका चालक र सहचालकसहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।