धरान । पास नलिई ठेलामा घुमाएर सब्जी बिक्री गरेको पाइएपछि दुई वटा ठेलावाललाई नियन्त्रणमा लिइएको छ ।

पास नलिई ठेलावालाले महँगो मूल्यमा तरकारी बेचेको भन्ने गुनासोको आधारमा नियन्त्रणमा लिइएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार धरान १ का ठेलावालाहरूले अन्यत्र पनि लगेर बेचेको पाइएको छ । उनीहरूलाई नगर प्रहरीले नियन्त्रणमा लिएर भोलि धरान उपमहानगरपालिका आउनका लागि निर्देशन दिइएको छ ।

त्यस्तै साताको दुई दिन मात्रै पुस्तक पसल खोल्न दिइएको अनुमति कार्यान्वयन नगरिएपछि धरान–१२ को महेन्द्र पथमा खुलेका पुस्तक पसलहरू बन्द गर्न लगाइएको छ । सोमबार र बिहीबार १० बजेदेखि ५ बजेसम्म मात्रै खोल्नका लागि केन्द्रीय सरकारको निर्णय अनुरूप स्थानीय सरकारले समय तालिका दिएर खोल्न अनुमति दिएको थियो । तर, अनुमति उल्लंघन भएको पाइएपछि बन्द गरिएको अधिकृत सापकोटाले जानकारी दिए ।

त्यस्तै धरान १३ स्थित कृषि उपज बजार स्थलमा एकदमै भिडभाड भएको खबर आएका आधारमा थोकमा मात्रै सामग्री बिक्री वितरण गर्न भन्दै निर्देशन दिइएको उनले बताए । कृषि बजारबाट थोकमा खरिद गरेर थोकमा बिक्री गरिएको भन्दै बिक्री गरेको पाइएपछि थोकभन्दा बाहिरका व्यापारीले बिक्री नगर्न भन्दै निर्देशन दिइएको छ । कृषि बजारमा मंगलबार बिहान बैठकपछि निर्देशन दिइएको हो । सोमबार पनि दुई वटा गाडीलाई नियन्त्रणमा लिइएको थियो ।