भद्रपुर । प्रहरीले हातपात गरेको विरोधमा शनिबारदेखि आन्दोलित बनेका तरकारी व्यवसायी सहमतिमा आएका छन् । झापा उद्योग वाणिज्य सङ्घ भद्रपुरमा सोमबार बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबिच सहमति भएको हो ।

लकडाउनको पालना गर्ने र गराउने विषयमा प्रहरी र व्यवसायी दुवैबाट कमीकमजोरी भएको निष्कर्ष बैठकले निकाल्दै यस्ता कमीकमजोरी आइन्दा नदोहोराउने, सरकारको निर्देशन बमोजिम सामाजिक दुरी कायम राख्दै यहाँका तरकारी व्यवसायीले जहाँ पसल गरिरहेका छन् । त्यही बिहान ८ बजेदेखि १२ बजेसम्म कारोबार गर्ने र प्रहरी जनताको साथी अवधारण अनुसार नगरमा काम गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नवराज पनेरुले जानकारी दिए ।

आन्दोलन फिर्ता लिएसँगै झापा उद्योग वाणिज्य सङ्घलाई आइतबार बुझाएको चाबी फिर्ता लिएको तरकारी व्यवसायी सन्तोष यादवले जानकारी दिए । शनिबार बिहान भद्रपुर बजारमा वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर नगरपालिकाका नगर प्रहरीले तरकारी व्यवसायीमाथि हातपातगर्दै नियन्त्रणमा लिएपछि उनीहरू त्यसको विरोधमा आन्दोलित बनेका थिए ।