धरान । धरान प्रहरीले हिजो र आज दुई फरकफरक स्थानबाट पक्राउ गरेका दुई फरार आरोपितले ‘व्यक्तिगत रिसिइबी साँध्ने अभिप्राय’ ले सामूहिक आक्रमण गरेको विगतको ‘हिस्ट्री’ ले देखाएको छ ।

पक्राउ परेकामध्ये धरान–५ देउरालीका रुबिन भुजेलसहित १२ जनाको समूहले धरान–७ शान्तिपथस्थित हाम्रो खाद्यान्न स्टोर अगाडिको सडकमा देउरालीकै २३ वर्षीय सुजन भुजेललाई धारिलो हतियारले आक्रमण गरेका थिए । सुजन भुजेलमाथि प्रशान्त भनिने प्रसन लिम्बूसहित १२ जनाको समूहले २०७५ चैत ७ गते आक्रमण गरेका थिए ।

सुजनमाथि बञ्चरो, खुकुरी, कट्टीसमेत प्रयोग गरी हत्याको प्रयास गरेको आरोपमा दुई वर्षदेखि फरार रहेका देउरालीकै रुबिन भुजेललाई आइतबार देउराली क्षेत्रबाट पक्राउ गरिएको हो । प्रसनसहित विष्णु बेघासहित ७ जना यसअघि नै पक्राउ परिसकेका छन् । अन्य फरार प्रतिवादीहरूको व्यापक खोजी कार्य भइरहेको छ । खोजी गर्ने क्रममा रुबिनलाई देउराली क्षेत्रबाट पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अन्य ३ जनाको पनि खोजी कार्य व्यापक गरिएको छ ।

त्यस्तै २०७६ पुस ८ गते धरान–११ जोरसखुवा नजिकै सडकमा हिँड्दै गरेको अवस्थामा पुरानो रिसिइबीका कारण धरान–१० मुनालपथका शिवचन्द्र राईमाथि आक्रमण गर्नेमध्येका काले भनिने फुर्तेञ्जी तामाङलाई पक्राउ गरिएको छ । उनी पाँच महिना यतादेखि फरार रहेका थिए । शिवमाथि अर्जुन तामाङ, फुर्तेञ्जीसहित चार जनाले खुकुरी तथा छुरी प्रहार गरेका थिए । शिवको टाउँको र ढाँडमा गम्भीर चोट पुर्याएका थिए ।

उनी उपचार पछि अहिले पनि स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर तथा अनुसन्धान अधिकारी हेमराज ओलीले जानकारी दिए । यो घटनाका आरोपितहरू हालसम्म फरार रहेका थिए । जसमध्ये फुर्तेञ्जीलाई नियन्त्रणमा लिन सफल भएको हो ।