धरान । दुई वर्षअघि ज्यान मार्ने उद्योगमा फरार रहेका धरानका दुई युवालाई धरान प्रहरीले फरकफरक स्थानबाट पक्राउ गरेको छ ।
फरकफरक घटनाका दुई युवालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले वैशाख २७ र २८ गते अपरान्ह पक्राउ गरी अदालतमा हाजिर गराएको छ । पक्राउ पर्नेमा धरान–५ देउरालीका रुविन भुजेल र धरान–१६ का फुतेञ्जी शेर्पा रहेका छन् । भुजेलले २०७५ साल चैत ७ गते एक युवालाई हत्याको प्रयास गरी फरार रहेका थिए । त्यस्तै फुर्तेञ्जीले पनि २०७६ पुस ८ गते घटना घटाई फरार रहेका थिए ।
फुर्तेञ्जीलाई धरान–११ बाट पक्राउ गरिएको हो । लुकिछिपी बसिरहेका समयमा इप्रका धरानबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरी उनीहरूलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धान अगाडि बढाइएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।