वराहक्षेत्र/जागिर लगाई दिने भन्दै दुई बालिकाहरूलाई ललाईफकाई लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
वराहक्षेत्र नगरपालिका–१ चतराको खहरेस्थित चेक पोइन्टमा धनुषा र सिराहा जिल्लाका ललन मण्डल र महेशप्रसाद यादवलाई शनिबार दिउसो करिब दुई बजेतिर पक्राउ गरिएको सशस्त्र बल चतराका इन्स्पेक्टर अशोक न्यौपानेले बताए ।
धनुषा जिल्लाको जनकपुर नगरपालिका वार्ड नम्बर ७ बालुवाटोलका २७ वर्षका ललन मण्डल र धरान उपमहानगरपालिका–१ बस्ने १४ र १७ वर्षीया बालिकालाई ललाईफकाई लाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूले प्रदेश नम्बर २–०२००१ प ०११२ नम्बरको मोटरसाइकलमा हालेर लैजादै गर्दा सोधपुध गर्दा चेलीबेटी बेचबिखनको आशंकामा नियन्त्रणमा लिइएको इन्स्पेक्टर न्यौपाने बताए ।
अर्का सिराहा जिल्लाको नवराजपुर गाउँपालिका बस्ने २१ वर्षका महेशप्रसाद यादवलाई चतराघाटस्थित कोशी पुल नजिक बिग्रिएको मोटरसाइकल बनाउदै गर्दा पक्राउ गरिएको उनले बताए ।
आफूहरूलाई लाहानस्थित अस्पतालमा जागिर लगाई दिने भन्दै आमाले ललन मण्डलको साथ लगाई दिएको एक बालिकाले बताइन् । अर्कीले भने बुबाले पठाएको बताइन् । उता पक्राउ परेका ललनले भने आफूहरूबीच पहिलेदेखि नै चिनजान भएको हुनाले आर्थिक अवस्था कमजोर भएकाले बालिकाहरूलाई काम लगाइ दिनका लागि आमाहरूले भनेपछि उनीहरूकै सल्लाहमा लगिएको बताए ।
सोधपुछको क्रममा पक्राउ परेका ललनले साथमा भएका बालिकाहरू कहिले साहुँको छोरीहरू भएको त कहिले एनसीसी बैंकको चालक भएको भन्दै बताएको इन्स्पेक्टर न्यौपानेले बताए । उनले छोरीहरूलाई लिन आउनका लागि पटकपटक फोन गर्दा पनि बालिकाको आमा नआएको बताए ।
पक्राउ गरिएका साथबाट दुई थान मोबाइल र एक थान मोटरसाईकल तथा बालिकासहित, स्थानिय वार्ड नम्बर २ का अध्यक्ष हरिकृष्ण भट्टराई र वार्ड नम्बर १ को सदस्यद्वय शुसिला शेर्पा र शुसिला परियारको रोहबरमा उनीहरूलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय चक्रघट्टी बुझाएको छ ।
(यसअघि बालिकाहरूकाे नाम उल्लेख गरिएकाे भए पनि सामाजिक रूपमा समस्या उत्पन्न हुनसक्ने भएकाले सुरक्षाकर्मीकाे आग्रहमा हटाइएकाे छ । सम्पादक)